२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन

ADV
मध्यान्ह
२०८१ असार १२ गते १९:०३
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन

काठमाडौं : विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा चार सय केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत प्रसारण शुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट चार सय केभीमा विद्युत आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्रै चार सय केभी प्रसारण लाइनबाट विद्युत प्रवाह शुरु गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै कोशी प्रदेशका तराईका जिल्लामा विद्युत आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत प्रवाह गर्न सक्दछ ।

प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । अहिले दुई देशबीच विद्युत आयात निर्यात परिमाण आठ सय मेगावाट मात्र छ । उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारततर्फ निर्यात गर्न सकिने बताए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ-याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेनसम्म दुई सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटर दुई खण्डमा विभाजन गरिएको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise