२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाणगंगा नगरपालिकाको बजेट एक अर्ब ६२ करोड

ADV
क्षितिज किरण
२०८१ असार १२ गते २०:३५
बाणगंगा नगरपालिकाको बजेट एक अर्ब ६२ करोड

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । मायादेवी रिसोर्ट बैरियामा आयोजना भएको १५ औँ नगरसभामार्फत ८ सय ७५ बुँदे योजना समेटेर १ अर्ब ६२ करोड ४६ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । नगर प्रमुख चक्रपाणी अर्यालले सभामा बजेटको सारंश पढेर सुनाएका थिए ।

संघबाट नगरमा आउने वित्तिय समानीकरणतर्फ १९ करोड ९ लाख, सशर्त अनुदान ५५ करोड ७३ लाख ३८ हजार, विशेष अनुदान ६५ लाख, राजश्व बाँडफाँड १६ करोड २७ लाख, प्रदेशतर्फबाट आउने १ करोड ३५ लाख ८६ हजार, सशर्त अनुदान १ करोड ४५ लाख, विशेष अनुदान २५ लाख, राजश्व बाँडफाँड १ करोड ६० लाख, समपुरक अनुदान १ करोड ५ लाख, आन्तरिक आयतर्फको २८ करोड ५० लाख, सडक बोर्डको ५० लाख र सामाजिक सुरक्षातर्फको ३८ करोड ८६ लाख ६२ हजार गरी १ अरब १ अरब ६२ करोड ४६ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक भएको हो ।

त्यसमध्ये सामाजिक विकासको लागि सबैभन्दा धेरै ९१ करोड ११ लाख ५१ हजार विनियोजन भएको छ भने दोस्रोमा भौतिक पूर्वाधार रहेको छ । भौतिक पूर्वाधारमा ४१ करोड ६९ लाख ९९ हजार बजेट छुट्याइएको छ । त्यसैगरी सुशासन तथा संस्थागत विकासतर्फ २० करोड २५ लाख, आर्थिक विकासतर्फ ७ करोड २७ लाख र वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड २ लाख बढी विनियोजन भएको छ ।

नगरको आगामी प्राथमिकतामा सामाजिक, पूर्वाधार, सुशासन, आर्थिक र वन, वातावरण तथा विपद् व्यवस्थापन रहेको बजेट पुस्तिकामा उल्लेख छ । सोही बजेटको आधारमा कृषि, पशुसेवा, शिक्षा, युवा खेलकुद, स्वास्थ्य, महिला तथा बालबालिका रोजगार र उद्यम प्रवर्द्धन लगायतका कार्यक्रम समेटिएको नगरप्रमुख अर्यालले जानकारी गराए । नगरका विगतका बहुवर्षे योजना लगायतलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

‘समग्र नगरको विकासको लागि ब्राण्ड बाणगंगा, विलिभ बाणगंगा’ भन्ने अभियान सञ्चालन गर्ने कुरालाई पनि बजेटले समेटेको छ । तर नगरले आफ्नो ब्राण्ड के हो ? भनेर चिन्न नसकेको देखिन्छ । अर्थात् बाणगंगाले आफ्नो परिचय के हो ?, भन्ने कुरालाई छुट्याएर बजेट विनियोजन गर्न सकेको छैन । 

कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, प्रदेश सांसद गिरीधारीलाल न्यौपाने, जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य, कांग्रेसका नगर सभापति विष्णु थापा, माओवादीका नारायण भुसाल, नेकपा एसका दीपक पन्थी लगायतले बजेटले नगर ब्राण्डिङको प्रयास गर्नु राम्रो भएको बताउँदै नगरको आफ्नो ब्राण्ड के हो ?, भनेर चिन्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सहभागी अन्य सरोकारवालाले नगरको ब्राण्ड चिन्नुपर्ने बताउँछन् । स्थानीय तहको दोस्रो चुनावपछिको ३ वर्ष र त्यसअघिको ५ वर्षसम्म पनि नगरले आफ्नो चिनारी बनाउन नसकेको, गौरव गर्ने योजना निर्माण गर्न नसकेको भन्दै नाराले मात्र नगरको ब्राण्डिङ नहुने उनीहरु बताउँछन् । 

बजेट सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो । नगरमा धेरै कर तिर्ने, रोजगारी सिर्जना गर्ने, पत्रकारिता, शिक्षा, खेलकुद, स्वास्थ्य आदि क्षेत्रमा योगदान दिएका व्यक्तिलाई समेत सम्मानित गरिएको थियो । यस्तै नगरको लोगो बनाउने प्रकाश घिमिरेलाई पनि ३० हजार नगद रुपैयाँले सम्मान गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise