काठमाडौं : अमेरिका, क्यानडा, जापान जस्ता देशमा वैदेशिक रोजगारका लागि भन्दै अनपेक्षित ठूलो रकमको ठगीका उजुरी परेका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा रकम लिएर फरार रहेका व्यक्तिहरू पक्राउ परेपछि वैदेशिक रोजगारका नाममा भएका ठूलाठूला घटना सार्वजनिक भएका हुन् । अमेरिका पठाइदिने प्रलोभन दिएर कञ्चनपुरको शुक्लाफाँटाका भुवन कार्कीले ३ जनाबाट १ करोड लिएको उजुरी परेको छ ।
यसअघि सोमबार अमेरिका पठाइदिने धन्दै १ जनाबाट ९७ लाख ५४ हजार ठगेको उजुरीका आधारमा गोरखाको शहीद लखन गाउँपालिकाका सुरेन्द्र विकलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अमेरिका पठाउने भन्दै परिबन्दमा पारेर ९७ लाख ५४ हजार लिएपछि सम्पर्कविहिन भएका विकलाई कलंकीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
त्यस्तै क्यानडा पठाउने भन्दै १२ लाख ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौं कागेश्वरीका नितेश पोखरेललाई पनी पक्राउ गरेको छ । उनले क्यानडा पठाइदिने भन्दै ४ जनाबाट १२ लाख लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अमेरिका, क्यानडा, जापान जस्ता देशमा वैदेशिक रोजगारीका लागि भन्दै ठूलो रकम लिने र सम्पर्कविहीन हुने क्रम बढेको बताएको छ ।
प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाउने गरेको छ ।