काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनमा वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भान्तनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल बन्ने भएको छ । आगामी फागुन २ गते हुने संघ कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अध्यक्ष र महासचिवका उम्मेदवार सार्वजनिक गरेको र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र पारिरहेका बेला व्यवसायी भान्तनाले बिहीबार अध्यक्षको उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
भान्तना संघको प्रथम उपाध्यक्षमा निर्वाचित भएर काम गरिसकेका पुराना व्यवसायी हुन् । उनले आफूले गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई मधेशका व्यवसायी समेटेर संयुक्त व्यावसायिक प्यानल बनाएको र व्यवसायीका समस्या समाधानका लागि क्रियाशील रहने गरी अगाडि बढेको बताए । वैदेशिक रोजगार व्यवसायभित्रका केही संस्थाले परिवर्तित सन्दर्भ बुझ्न नसकेर दम्भ प्रदर्शन गरेको भन्दै आफ्नो समूहमा बहुसंख्यक व्यवसायी समेटिनेसमेत व्यवसायी भान्तनाले दाबी गरे ।