टेक्सास, अमेरिका : अमेरिकाको वासिङ्टन डिसिस्थित नेपाली दूतावासले क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा आयोजना गरेको राहदानी कन्सुलर सेवा शिविरबाट १ हजार ५१५ नेपाली प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । उक्त शिविरमा १ हजार ५०६ जनालाई राहदानी सेवा र ९ जनालाई अधिकृत वारेशनामा सेवा दिइएको दूतावासले जनाएको छ । सुरुमा जनवरी महिनाको २२ तारिकदेखि ५ दिन शिविर संचालन गर्ने भनिए पनि सेवाग्राहीको चाप बढेपछि ३ दिन थप गरेर सेवाग्राहीलाई सेवा दिइएको थियो ।
शिविरमा क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायका अतिरिक्त आसपासका राज्यबाट पनि नेपाली सेवाका लागि क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्को पुगेको गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताए ।
नेपालीहरुको बाक्लो बसोबास रहेको क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सञ्चालन गर्नका लागि नेपाली समुदायका संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । शिविरको गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले शिविर व्यवस्थापनमा सहयोग गरेका थिए ।
शिविरको समापन गर्दै दूतावासका कार्यवाहक राजदूत एवं डेपुटी चिफ अफ मिसन शरदराज आरणले नेपालीलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार दूतावासले संचालन गर्दै आएको बताए ।
भौगोलिक क्षेत्र ठूलो भएका कारण दूतावास कार्यालयबाट सरल र सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएकाले नेपाल सरकारले क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले जानकारी दिए ।
शिविरको समापन कार्यक्रममा क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ओझा, नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्की र श्री गुरुङले आफ्नो धारणा राखेका थिए ।