कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि राम गोरखा माध्यमिक विद्यालयले जितेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा राम गोरखा माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा राम गोरखा माविले ९ स्वर्ण, १० रजत र ३ कांस्य पदकसहित कूल २२ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्यो ।
यसैगरी, नेत्रज्योति माध्यमिक विद्यालयले १८ पदकसहित दोस्रो स्थान तथा सेन्ट ज्युडस कृष्णनगरले ६ पदकसहित तेस्रो स्थान प्राप्त गर्यो ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, नगरप्रमुख रजत प्रताप शाह र उपप्रमुख आरतीदेवी चौधरीले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले खेलकुदले विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरप्रमुख रजत प्रताप शाहले नगरपालिकाले शिक्षा र खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने उल्लेख गरे । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बलराम पन्थीले गरेका थिए ।