काठमाडौं : किशोर–किशोरीबीच पहिला सामान्य चिनजान हुन्छ, फोनमा कुराकानी हुन्छ । बिस्तारै प्रेम बस्छ । प्रेम नगहिरिँदै युवती समक्ष यौनको प्रस्ताव आउँछ । युवतीले अस्वीकार गर्छिन् । अन्त्यमा हत्या हुन्छ । हत्याकी प्रत्यक्षदर्शी बनेकी अर्की किशारीले त्यही घटनामा ज्यान गुमाउँछिन् ।
अछाम ढकारी गाउँपालिका– १ मा भएको २ युवतीको हत्याको कथा हो यो । उनीहरू गाउँबाट हराएपछि खोजतलास गर्दै गर्दा जंगलमा मृत भेटिएपछि हत्या भएको खुलेको हो ।
१२ माघमा जंगलमा मृत भेटिएका ढकारी गाउँपालिका– ८ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको हो । यौन प्रस्ताव अस्वीकार गर्दा दुवै किशोरीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
शनिबार पत्रकार सम्मेलन गरी प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले इशरा र सरस्वतीको ढकारी गाउँपालिका– ३ का २ जना किशोरले हत्या गरेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि ज्यान मार्ने कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
११ माघमा घरबाट बाख्रा चराउन गएका इशरा र सरस्वती साँझ फर्केर आएनन् । चराउन लगेका बाख्रा भने फर्केर अर्कैको बारीमा पसेका थिए, जहाँबाट गाउँलेले घरसम्म पुर्याइदिए ।
त्यसको भोलिपल्ट १२ माघमा उनीहरू मृत भेटिए । पक्राउ परेका दुवै किशोरले घटनामा आफ्नो संलग्नता हरेको स्वीकार गरेका छन् ।
ढकारी गाउँपालिका– १ स्थित षोडशा सामुदायिक वनको छिन्ने ओडार नजिक दुवै जनाको मृत शरीर बीभत्स अवस्थामा फेला परेका थिए । शवको अवस्था हेर्दा सुरुमै उनीहरूको हत्या भएको प्रहरीको अनुमान छ ।
यसरी भएको थियो हत्या
ती किशोर–किशोरीहरू प्रेमी–प्रेमिका रहेको पनि खुलेको छ । सरस्वतीलाई किशोरले यौन प्रस्ताव राखेको र त्यो अस्वीकार गरेपछि १५ वर्षीय प्रेमीले ढुंगाले हानेर उनको हत्या गरेका थिए । सरस्वतीको हत्या भएको कुरा गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा इशरालाई उनका प्रेमी १७ वर्षीय किशोरले ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, अछामले हत्याको घटनाको सत्यतथ्य तत्कालै पत्ता लगाउन भने सकेन । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली पनि अछाम पुगेको थियो ।
यसरी घटनामा संयुक्त अनुसन्धान टोली हत्यारासम्म पुगेको दाबी प्रहरीको छ । अभियुक्त भनिएका किशोर ढकारी गाउँपालिका– ३ कै हुन् । यद्यपि, नाबालक रहेकाले दुवैको परिचय लुकाएको छ । उनीहरूलाई परिवर्तित नाम ६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६ दिइएको छ ।
प्रहरीका अनुसार अभियुक्त ६९ मंगलसेन ७३ र मृतक इशरा (भदैनी) लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो । त्यही कुराकानीका क्रममा दुवैबीच ‘बाल प्रेम’ बस्यो । अभियुक्त ६९ मंगलसेन ७३ ले इशरालाई भेट्न चाहेका थिए । तर, मौका जुरेको थिएन । ताली र पल्साताबीचको दुरी निकै टाढा भएकाले उनी भेट्नकै लागि भनेर इशराकहाँ जान सकेका थिएनन् ।
माघको महिना सुदूरपश्चिमेली क्षेत्रमा छोरी चेलीलाई ‘माघेत्यार’ (कोसेली) दिने प्रचलन छ । इशराको गाउँ पल्सातामा ६९ मंगलसेन ७३ फुपूको बिहे भएको थियो । फुपूलाई माघेत्यार दिन जाने र यही मौकामा इशरासँग भेट गर्ने अवसरका रूपमा उनले लिए । १० माघमा तालीबाट उनी ६९ मंगलसेन ७६ सँगै माघेत्यार लिएर पल्साता हिँडे ।
१० गते नै ६९ मंगलसेन ७३ ले इशरासँग भेट्न पटकपटक फोन गरेका थिए । तर, सम्भव भएन । त्यसपछि ११ गते उनी आफ्नी फुपूको १० वर्षीय छोरालाई समेत लगेर ६९ मंगलसेन ७६ सहित बिहान १० बजेदेखि नै इशराको बाटो कुरेर बसे । त्यो दिन इशरा बाख्रा चराउन जाने कुरा उनले फोनबाटै थाहा पाएका थिए ।
दिउँसो १२ बजे रिमरौवा खोलामा रहेको खोरबाट इशरा र उनी फुपू सरस्वती बाख्रा लिएर जंगल निस्किइन् । त्यही बाटोमा उनीहरूबीच पहिलो पटक भेट भयो ।
त्यसपछि उनीहरूबीच कुराकानी सुरु भएको थियो । यस क्रममा सरस्वतीको मोबाइलबाट ६९ मंगलसेन ७३ ले बेयर इटबाट आफ्नो मोबाइलमा गीत सारेकोसम्म बयान दिएको प्रहरीले जनाएको छ ।
छिन्ने ओडारको ढुंगामा बसेर गफ गर्दा किशोरहरूले इशरा र सरस्वतीसँग ‘मायाको चिनो’बापत चुन्नी (दोपट्टा) मागेका थिए । तर, किशोरीले दिन मानिनन् । यस्तोमा ६९ मंगलसेन ७६ ले इशराको चुन्नी खोसेर ६९ मंगलसेन ७३ लाई दिएका थिए । यस्तै, सरस्वतीले चुन्नी नदिएपछि ६९ मंगलसेन ७६ ले उनको इयरफोन खोसेका थिए ।
यस क्रममा केटा–केटीबीचमा विवाद भएपछि दुवै समूह केही बेर छुट्टिएका थिए । यस क्रममा इशरा बाख्रा हेर्न केही टाढा जान्छिन् । यस्तोमा ६९ मंगलसेन ७६ सरस्वती नजिक गएर प्रेम प्रस्ताव राख्छन् । सँगै उनले यौन सम्बन्धको पनि प्रस्ताव राख्छन् । प्रहरीका अनुसार उनले ‘विवाह गर्ने भएपछि मात्र दिन्छु’ भनेकी थिइन् । ती किशोरले आफ्नो उमेर कम भएको भन्दै ५–६ वर्षपछि गरौंला भनेका थिए । त्यसमा सरस्वतीले मानिनन् ।
त्यसपछि ६९ मंगलसेन ७६ ले आफ्नो यौन प्रस्ताव अस्वीकार गरेको झोंकमा पछाडिबाट सरस्वतीको टाउकामा ढुंगाले हानेको बयान दिएको प्रहरीले जनाएको छ । त्यही अवस्थामा बेहोस भएर ढलेसँगै उनको मृत्यु भयो ।
टाढा पुगेकी इशराले यो घटना तत्काल थाहा पाइनन् । सरस्वतीको मृत्यु भएपछि भवितव्य देखाउन उनको शव भएतिर ६९ मंगलसेन ७६ ले ढुंगा लडाए, जसमा ६९ मंगलसेन ७३ ले पनि सघाए ।
यता, ढुंगा लडाएर कराएको आवाज सुनेपछि इशरा घटना भएतर्फ आइन्, जहाँ सरस्वतीको मृत शरीर बीभत्स अवस्थामा देखिन् । इशरालाई दुवै जनाले लडेको ढुंगा लागेर मृत्यु भएको विश्वास दिलाउन खोजे तर उनले पत्याइनन् । हत्या गरेको गाउँलेलाई भन्छु भन्न थालेपछि दुवै जना मिलेर उनको पनि हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
यता, दुवैको हत्यापछि पनि उनीहरूले भवितव्य देखाउन शव भएतिर धेरै ढुंगा लडाएका थिए । यसरी एकैसाथ अस्वाभाविक ढंगले घटनास्थलमा ढुंगा देखेपछि प्रहरीले त्यहीँबाट अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले विभिन्न सुराकको प्रयोग गरेर अभियुक्तसम्म पुगेको थियो, जसमा अभियुक्तसँगै गएका १० वर्षीय नाबालकले पनि अनुसन्धानमा सघाए ।
अहिले अभियुक्त दुवै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।