२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

यात्रा २३औं वर्षको

hardik ivf
२०८१ माघ २१ गते ०६:३५
यात्रा २३औं वर्षको

मध्यान्ह राष्ट्रिय दैनिकले २२ वर्ष पूरा गरेको खबर सुनाउन पाउँदा हामी अत्यन्तै हर्षित छौं । र, यो खुसी हाम्रा पाठक वर्ग, विज्ञापनतादाता, विक्रेता, शुभेच्छुकलगायत सम्पूर्णसँग साट्न चाहन्छौं । वार्षिकोत्सवको यो खुसियालीमा हामीले शुभकामना आदान–प्रदानका साथै विशेष प्रकाशनसमेत प्रस्तुत गरेका छौं । वार्षिकोत्सव भनेको औपचारिकता पूरा गर्ने अवसर मात्र नभएर कुनै पनि संस्था स्थापनाको उद्देश्य, मान्यता र संकल्प सम्झने मौका पनि हो । त्यसैले यो वार्षिकोत्सवमार्फत हामीले स्थापनाकालीन उद्देश्यमा अविचलित रहेको अर्को प्रमाण प्रस्तुत गरेका छौं । 

२ माघ २०५९ मा मध्यान्हको स्थापना भइरहँदा हामीले बहुलवादी समाज, बहुदलीय लोकतन्त्र, संविधानवादको सिद्धान्त, वाक् तथा अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतालाई सम्झौतारहित शर्त मानेका थियौं । तर, मध्यान्ह राष्ट्रिय दैनिकले २२ वर्ष पार गरिरहँदा थुप्रै चुनौतीहरू सामना गर्नुपर्‍यो । बहुलवादी समाजको चरित्रबमोजिम शासनसत्ता स्थापना गर्ने राजनीतिक संघर्षका क्रममा मध्यान्ह पनि नराम्ररी प्रभावित बन्न पुग्यो । बहुदलीय लोकतन्त्रको भावनाविपरीत अनेक पटक भएका प्रहारको विपक्षमा उभिनु पक्कै सजिलो थिएन । अझ मुलुकको सार्वभौमसत्ता, जनताका आधारभूत अधिकार जस्ता एजेन्डामा पत्रकारिताको मूल्य, मान्यतामा अडिग रहेर प्रस्तुत हुनु कठिन कार्य हो । 

कठिन लाग्ने कार्यहरूमा पनि हामी सम्झौतारहित ढंगले उभिएका सयौं उदाहरण छन् । मुलुकले खेप्नुपरेको विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता महासंकटहरूमा हामी बिचलित भएनौं । पूर्वी एसियाका देशहरूको युद्धले बिथोलिन पुगेको विश्वव्यापी अर्थतन्त्रका बाबजुत हामी आफ्नो मान्यतामा अडिग छौं । तसर्थ, आज मध्यान्ह राष्ट्रिय दैनिकले २३औं वार्षिकोत्सव मनाउन सफल छ । र, यस पटक हामीले मुलुकलाई आफ्नो गन्तव्यबाट बिचलित नहुन खबरदारी गरेका छौं । यो यात्रामा साथ दिने तपाईं पाठक, विज्ञापनदाता, विक्रेता र शुभेच्छुकहरूप्रति हामी ऋणी छौं । आगामी दिनमा तपाईं सम्पूर्णको साथ, विश्वास र भरोसा पाउने आशा गर्छौं । 
धन्यवाद ! 

सीतादेवी श्रेष्ठ
प्रकाशक

ADVenergy

सम्बन्धित खबर

Advertise