माल्टा : तामाङ समाज माल्टाले भव्यताका साथ सोनाम ल्होछार मनाएको छ । मञ्जुश्री सम्बत् २८६१ डुल स पुख्री (सर्प बर्ग) ल्होको अवसरमा आइतबार समाजले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाएको हो । माल्टाको जिरास्थित अर्फियम थेयटरमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाइएको समाजका महासचिव अशिम लोप्चनले जानकारी दिए ।
कार्यक्रममा तामाङ समुदायको संस्कृति झल्कने खालका विशेष सांगीतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई नेपाल भित्र्याउन जोड दिँदै नेपाली उत्पादनसँग जोड्न आग्रह गरे ।
कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतिले कार्यक्रम थप उल्लासमय बनेको थियो । प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए । सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो । जसलाई विशेष रूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ । कार्यक्रमका वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए ।
एनसीसी माल्टा तमु समाज, मगर समाज र नेपाली समाजका अध्यक्ष, पदाधिकारीहरु र समाजका स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको थियो । कार्यक्रमको सफल आयोजकले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ । यस अवसरमा, तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झन लायक मानेका छन् । कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको समाजले जनाएको छ ।