बझाङ : स्थानीय डकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘भूकम्प प्रतिरोधी संरचना निर्माण’ सम्बन्धी क्षमता विकास तालिम थलारामा सम्पन्न भएको छ । माघ १८ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको उक्त तालिम थलारा गाउँपालिकाको कार्यालय खोलीमा सम्पन्न भएको हो ।
तालिम यूनाइटेड मिशन टु नेपाल बझाङ कलस्टरको प्राविधिक सहयोग र प्रगतिशिल युवा समाज बझाङले आयोजना गरेको हो । तालिममा २२ जना स्थानीय डकर्मीहरूको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक तथा इन्जिनियर विरेन्द्र रोकायाले भूकम्प प्रतिरोधी संरचना निर्माण, नक्सा बनाउने सीप, सुरक्षित भवन निर्माणका सिद्धान्त तथा नेपाल सरकारद्वारा स्वीकृत मापदण्डबारे जानकारी गराएको बताए ।
थलारा गाउँपालिकाका उपाध्यक्ष राम खातीले समुदायका डकर्मीलाई भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्नका लागि तालिम प्रदान गर्नु सकारात्मक पहल भएको बताए । प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले यस्ता तालिमहरूले दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
तालिममा सहभागी बमबहादुर सिंहले भूकम्प प्रतिरोधी भवन निर्माणबारे विस्तृत रूपमा बुझ्न पाएको बताए । अर्का सहभागी राजेन्द्र सवखोलीले तालिमबाट प्राप्त ज्ञान अब भौतिक संरचना निर्माण कार्यमा प्रयोग गर्ने बताए । महाराम भट्टले सुरक्षित भवन निर्माणका लागि यस्ता तालिमहरू आवश्यक रहेको धारणा व्यक्त गरे ।
सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीले तालिमले स्थानीय डकर्मीहरूलाई भूकम्प प्रतिरोधी प्रविधि अवलम्बन गरेर भौतिक संरचना निर्माणमा अभिप्रेरित गर्ने बताए । तालिम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्थाले सबै प्रशिक्षार्थी, प्रशिक्षक र गाउँपालिका प्रति आभार व्यक्त गरेको छ ।