२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

उत्तरदायी बजेट योजनामा समेट्न राउटे समुदायको माग

himalayanlife
२०८१ माघ २४ गते २२:३९
Shares
उत्तरदायी बजेट योजनामा समेट्न राउटे समुदायको माग

निस्ता कार्की/मध्यान्ह 

कालीकोट : राउटे  समुदायले स्थानीय सरकारसँग लंैगिक उत्तरदायी बजेट योजनाको माग गरेका छन् ।

कालीकोटको नरहरीनाथ गाउँपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग राउटे समुदायले उक्त माग गरेका हुन् । 

कर्णाली प्रदेशको केही भागमा बसोवास गर्दै आएका १ सय ४२ घरधुरी राउटे समुदायका मुखिया शेरबहादुर शाहीले लैंगिक समानता कायम गर्न राउटे समुदायलाई नसमेटि योजना निर्माण गर्न नहुने बताए । 

उनले भने, ‘पुर्खाको सभ्यता बचाउन वनमा बसेपनि खान लाउन धौं धांै हुने भएकाले अल्पसंख्यक जाती राउटे समुदायलाई बजेट निर्माणमा सहभागि गराइ बजेट विनियोजन गर्नुपर्छ । वनको कन्दमुल, झारपात तथा बाँदरको सिकार गरी गुजरा चलाएपनि अहिले राउटे समुदाय संकटमा परेको छ । संकटमा परेको राउटे समुदायका लागि कालीकोटका स्थानीय तहले पनि बजेटको व्यवस्थापन गर्नुपर्छ । हामी बोल्न जान्दैनौ, लेख्न जान्दैनौ, पढ्न जान्दनौ, हाम्रो बैंकमा खाता छैन । नगदै रुपैयाँ दिनुपर्छ ।’ 

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले सभ्य समाज निर्माणमा महिला पुरुषको उत्तिकै दायित्व रहेको बताए । ‘लैंगिकताका आधारमा स्थानीय सरकारले बजेटमा अन्याय गर्दैनौ । त्यतिमात्र नभइ राउटे समुदायको पनि लैंगिक उत्तरदायी बजेट योजनाको माग भएकाले उनीहरुलाई पनि बजेट निर्माण तथा कार्यान्वयन र विनियोजनमा सहभागी गर्छौ’ उनले भने, ‘महिला पुरुष तथा सीमान्तकृत र जोखिममा रहेका वर्गहरुका लागि पनि आवश्यक बजेट योजनाको निर्माण गरी सबैको न्याय हुने काम गर्छौ ।’ 

नरहरीनाथ गाउँपालिकामा बालमैत्री तथा अपाङ्गमैत्री धारा निर्माण, स्वावलम्बन समूहहरूले सञ्चालन गरेका जिविकोपार्जनका कार्यक्रमहरू सञ्चालन गरेको आइ.एन.एफ.नेपालका दलबहादुर बुढाले बताए । 

उनले भने, ‘सभ्य समाज निर्माण गर्न फोहोरमैला व्यवस्थापन, टनेल प्रविधिबाट गरिने बेमौसमी तरकारी खेती, पशुपालन, मासिक बचत तथा विपद् व्यवस्थापन कोष स्थापना गर्नुपर्छ । राउटे समुदायलाई पनि यस्ता कार्यक्रमहरुमा सहभागिता गराउन सरकारसँग लैंगिक उत्तरदायी बजेट योजना हुन जरुरी छ ।’  

लैंगिक उत्तरदायी बजेट योजना सम्बन्धी कुनै पनि छलफल नगरी स्थानीय सरकारले बजेट विनियोजन गरेका कारण लक्षित वर्ग समस्यामा परेको सामाजिक अभियन्ता बिरेन्द्र बुढाले बताए । उनले नरहरीनाथ गाउँपालिकामा आइ.एन.एफ.नेपालले कृषिमा आधारित काम गरेको भन्दै खुशी व्यक्त गरे ।

सम्बन्धित खबर