प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा दलित समुदायका सांसदहरू एकजुट देखिए । नेतृत्वको निर्णय र संसद्मा पार्टीको भूमिका हेरेर मात्र बोल्ने सांसदहरू यो बैठकमा एक स्वर सुनिएका थिए । अझ रोचक त विषय प्रवेश नै सत्ता पक्षका सांसदले गराएकी थिइन् । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गरेका युवक दम्पत्तीमाथि भएको अत्याचारबारे विरोधमा बोलेकी थिइन् । अन्तरजातीय विवाह गरेका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियारको विवाह तोड्न राज्य शक्तिको दुरुपयोग भएका तथ्यहरू उनले पेस गरेकी थिइन् । र, राज्यसत्ताको दुरुपयोग गर्ने काम स्वयं गृहमन्त्री रमेश लेखकबाट भएको उनले बताएकी थिइन् ।
कांग्रेस सांसद शान्तिलाई अरू सत्तापक्ष र विपक्षका दलित समुदायका सांसदहरूले सशक्त साथ दिए । एमालेकी हर्कमाया विश्वकर्माले कांग्रेसकी सांसद शान्तिले जस्तै यो घटनाबाट ६० लाख दलित समुदायमाथि अपमान भएको तर्क गरिन् । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारको नीतिविपरीत यो घटना भएकामा दुःख व्यक्त गरिन् । विपक्षीमा रहेका सांसदहरूको साथ नमिल्ने कुरै भएन । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बराली, रास्वपाका शिव परियार र राप्रपाकी अनिसा नेपालीले गृहमन्त्री लेखकको जबाफ मागे । माओवादी सांसद बरालीले त सहकारी बचत रकम अपचलन मुद्दामा फरार अभियुक्त जी. बी. राईलाई समात्न नसक्ने प्रहरीले दलित दम्पत्तीलाई पक्रेर बहादुरी देखाएको व्यंग्य नै गरे । गैरदलित समुदायका सांसदहरूले पनि यो प्रकरणमा गृहमन्त्रीको जबाफ मागे ।
जबाफमा गृहमन्त्री लेखकले आफूले कुनै हालतमा अन्तरजातीय विवाह दुरुत्साहन हुन नसक्ने प्रतिबद्धता गरे । संवैधानिक व्यवस्था र परिवर्तनको चाहनालाई सम्बोधन गर्ने गृहमन्त्री लेखकको भनाइ थियो । तर, संसद्मा सांसदहरूबाट प्रस्तुत तथ्य र सार्वजनिक भएका विवरणहरू हेर्दा सत्यन्द्र–नेहाको जोडी छुटाउन असाध्यै ठूलो शक्ति परिचालन भएको देखिन्छ । सत्ताकै शक्ति दुरुपयोग गरेर मुद्दा–मामिला र धम्की दिने काम भएको प्रस्ट हुन्छ । तसर्थ, यो प्रकरणमा गृहमन्त्रीसहित प्रशासनका तर्फबाट गल्ती सच्याउने मात्र नभएर क्षमा माग्न जरुरी छ किनकि यो घटना एक प्रकारले राष्ट्रिय लज्जाको उदाहरण बन्न पुगेको छ । अन्तरजातीय विवाह तोड्न र जातीय विभेद गर्न राज्यशक्ति कुन तहसम्म दुरुपयोग हुन्छ भन्ने सन्देश आमतहमा गएको छ । यसर्थ, राज्य प्रणालीको रक्षार्थ पनि यो लज्जामा माफी माग्न जरुरी छ, जसले आगामी दिनमा यस्ता घटना नहोऊन् ।