काठमाडौं : अविरल वर्षाका कारण गएको पहिरोमा परी गतराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परेर घाइते छ जनाको उद्धार गरिएको छ ।
त्यसैगरी पोखरा– २५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।
पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान सामान्य घाइते भएका छन् । बर्षासँगै रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।
त्यस्तै लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको छ । दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएके छ । मृत्यु हुनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका छन् ।
प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् । राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको हो । पहिरोले वरपरिका अन्य घरमा भने क्षति नगरेको प्रहरीले जनाएको छ। लमजुङमा बिहीबार साँझदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन ।
यस्तै म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा गएराति गएको पहिरोमा पुरिएर सातजना वेपत्ता भएका छन् । घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको प्रहरीले जनाएको छ । भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ ।
भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन । पहिरोमा फसेकमा १५ जनाको उद्दार गरिएको छ । मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो ।
त्यस्तै रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज समेत बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies