मञ्चद्वारा कोरोना कोषमा ३५ लाख सहयोग
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा ३५ लाख ३३ हजार रुपैयाँ प्रदान गरेको छ । मञ्चद्वारा संकलित रकम बिहीबार रक्षा मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा मञ्चका संयोजक राम प्रसाद भान्तनालगायतका व्यवसायीहरुले संयुक्त रुपमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरे ।
मञ्चले कोरोनाविरुद्धको लडाईमा सरकारलाई सहयोग पुर्याउन एसओएस म्यानपावर सर्भिस प्रा.लि.का सञ्चालक वरिष्ठ व्यवसायी हेम गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन गरेको थियो । समितिमा मञ्चका पूर्व अध्यक्ष नरेश गेलाललगायतका व्यवसायीहरु सदस्य रहेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा संयोजक गुरुङसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षहरु दिल प्रसाद पोखरेल, प्रेम बहादुर कटुवाल, बल बहादुर तामाङ, वरिष्ठ व्यवसायी पदमराज पौडेल, मञ्चका सहसंयोजक राजेन्द्र भण्डारी, मञ्चका पूर्व अध्यक्षहरु नरेश गेलाल, टंक बहादुर राउत, हरि बहादुर पाण्डे क्षेत्री, पूर्व उपाध्यक्ष सुवर्ण श्रेष्ठ, मञ्चका पूर्व महासचिव डिक बहादुर खत्री ‘कुमार’, व्यवसायी हरिश कुँवर, हेमन्त जोशी, कुन्छा दोर्जे लामालगायतका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
मञ्चले प्रदान गरेको सहयोग राशी ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै प्रतिकुल परिस्थितिमा पनि कोभिड महामारीविरुद्धको लडाईमा कोषमा सकेको रकम योगदान गरेको भन्दै मञ्च परिवारप्रति धन्यवाद व्यक्त गरे ।
त्यस अवसरमा मञ्चका संयोजक भान्तनाले कोभिड–१९ का कारण वैदेशिक रोजगार व्यवसायीहरुले भेल्नु परेका व्यवहारिक, कानूनी तथा आर्थिक कठिनाइहरुकाबारेमा उपप्रधानमन्त्री पोखरेलको लिखित ध्यानाकर्षण गराए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार बाधा अड्काउ आदेश जारी नभएमा हाल कायम रहेका ८ सय ५४ व्यवसायीमध्ये करिब सवा ५ सय व्यवसायीको ईजाजतपत्र नवीकरण गर्न नपाई व्यवसायका लागि गरेको करोडौं लगानी डुब्ने स्थिति आएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन मञ्चको लिखित माग छ ।
कोभिडको विश्वव्यापी संक्रमणले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारकाबारेमा सरकारले भविश्यका लागि समेत दुरगामी दृष्टिकोण लिनुपर्ने भएकाले संख्या सयको विषयमा वैदेशिक रोजगार ऐनमै संशोधन गरेर त्यसलाई सधैंका लागि खारेज गर्नुपर्ने माग मञ्चले राखेको छ ।
त्यसैगरी मञ्चले व्यवसायीहरुले ईजाजतपत्रका लागि ५० लाखदेखि २ करोड रुपैयाँसम्म धरौटी राखेकाले वर्तमान जटिल अवस्थामा व्यवसाय सञ्चालनका लागि उक्त धरौटीलाई धितो मानेर सहुलियतपूर्ण व्याजमा कर्जा प्रदान गरिनुपर्ने, राहत दिनुपर्ने, संविधानले नागरिकलाई पेशा व्यवसाय गर्ने अधिकार प्रदान गरेको अवस्थामा वैदेशिक रोजगार व्यवसायीलाई एउटा मात्र पेशा गर्न बाध्य पार्ने कानूनी व्यवस्था हटाउनु पर्ने, वैदेशिक रोजगारमा कामदार पठाए वापत व्यवसायीले पाउने सेवा शुल्क अति न्यून रहेकोले कामदारले पाउने एक महिनाको तलव बरावरको रकम व्यवसायीहरुले सेवा शुल्क लिन पाउनुपर्नेलगायतका नीतिगत र व्यवहारिक व्यवस्था गर्न मञ्चले माग गरेको छ ।
मञ्चका माग सुनेपछि उपप्रधानमन्त्री पोखरेलले मञ्चले जुन गम्भीरताका साथ मञ्चले लिपिवद्धरुपमा माग पेश गरेको छ, आफुले पनि ती मागहरुलाई सोही गम्भीरताका साथ लिएको भन्दै संसद, श्रम मन्त्रालय र उच्चस्तरीय समितिको क्षेत्राधिकार अनुसार समाधानको पहल गर्ने आश्वासन दिए ।
उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालन गराउन नसके कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट बच्न नसकिने भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन व्यवसायीहरुलाई विशेष आग्रह समेत गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies