बारा : जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट १० दिनअघि बेपत्ता भएका ३ वर्षीय अंश चौधरीको शव शनिबार खोलामा फेला परेको छ ।
बारा र पर्साको सीमामा पर्ने किया सोती खोलामा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मामा घरमा बस्दै आएका रितेश चौधरीका छोरा अंश १७ माघ बिहान घरबाट निस्किएका थिए । विद्यालय जाने बालबालिकाहरूसँगै
जितपुर बजारसम्म पुगेको सीसीटीभी फुटेजमा देखिए पनि त्यसपछि उनी बेपत्ता भएका थिए ।
स्थानीयले खोलामा तैरिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक सन्तोष तमाडका अनुसार घटनास्थल पुगेर शवको पहिचान गर्दा बेपत्ता बालककै भएको पुष्टि भएको हो ।
‘खोलाबाट शव निकालेर उनका आमाबुवासँग पहिचान गराउँदा उनीहरूले आफ्नै छोराको शव भएको पुष्टि गरे,’ प्रहरी उपरीक्षक तमाडले भने ।
बालकको मृत्यु खोलामा डुबेर भएको हो वा अन्य कुनै कारण रहेको छ भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप जानकारी दिने प्रहरीको भनाइ छ । अंशका आफन्तहरूले जितपुर बजारसम्म देखिएको बालक कसरी खोलासम्म पुग्यो भन्नेबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।
रौतहटको दुर्गा भागवती गाउँपालिका–१ भागाहा पिप्रा घर भएका अंशका बुवा परिवारसहित ससुरालीमा बस्दै आएका थिए । बालक हराएको खबर समयमै प्रहरीलाई दिइए पनि खोजी कार्यमा ढिलाइ हुँदा अहिले शव भेटिएको भन्दै अंशकी आमा अन्जली जैसवालले गुनासो गरेकी छन् ।