–नारायण गाउँले
हामी अलि बढी नै नकारात्मक र असहिष्णु भएका त होइनौं ? पोखराका मेयरले कोटिहोम रोक्न खोजेको भन्दै उनलाई धर्मविरोधी, डलरे र विदेशी एजेन्टसम्मको गाली गर्न भ्याएछौं । मेयरका रूपमा उनी कति सफल छन् र उनले पोखरालाई कस्तो बनाएका छन् ? पंक्तिकारलाई थाहा छैन । तर, कोटिहोमसम्बन्धी एउटा अभिव्यक्तिलाई लिएर उनलाई गैरहिन्दु मात्र होइन, हिन्दु धर्मको भिलेनकै रूपमा प्रस्तुत गर्नु दुर्भाग्यपूर्ण छ ।
केही समयअघि पशुपतिमा कोटिहोम लगाएर चर्चामा आएका विजय कृष्णमूर्तिले पोखरामा ४ महिने कोटिहोम आयोजना गर्न लागेका रहेछन् । उनलाई महानगरका निकायले आयोजना मात्र होइन, समिधाका नाममा काठ, दाउराको अनुमति पनि दिएको बुझियो । तर, गुरुजीले समिधाका नाममा पोखराका चोक र चौतारीका वर–पीपल र समीका रूखलाई जथाभावी गिँडेर नांगो बनाएछन् । १०० वर्षभन्दा पुराना रूख पनि निर्मम गिँडिएका रहेछन् ।
मान्छे मात्र होइन, शहरमा चराचुरुंगीको आश्रय स्थल नै तिनै चौतारी र रूखहरू थिए । ५० ट्रकभन्दा बढी त्यसरी दाउरा जम्मा भएको रहेछ । यो वातावरणीय दृष्टिले अपराध त हो नै, धार्मिक दृष्टिले पनि अक्षम्य अपराध हो । ४ महिना चल्ने कोटिहोमका लागि ५० ट्रक या शहरका वर–पीपल मात्र पक्कै पर्याप्त हुँदैनथ्यो । यो छिमेकी गाउँ र बाटाघाटासम्म फैलन सक्थ्यो ।
जब पत्रपत्रिकामा समाचार आउन थाले, शहरको सौन्दर्य र वातावरण विनाश भएकामा विरोधको स्वर बलियो हुँदै गयो, महानगर आत्तियो । मेयरले कोटिहोमलाई अनुमति नभएको अभिव्यक्ति दिए । केही कारण त देखाउनुपर्यो ।
वातावरणकै कुराले यत्रो विरोध भएको थियो । उनले झ्याप्प बोल्दा त्यही भने । बस्, फेरि अर्को समाचार बन्यो– हवनको धुवाँले वातावरण बिग्रन्छ भन्दै पोखराका विधर्मी मेयरले कोटिहोम रोकिदिए, जबकि उनले आयोजना हुँदै गरेका अन्य २ महायज्ञबारे जानकारी दिएका थिए ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालको छेउमा एउटा व्यक्तिको आयोजनमा ४ महिना लामो कोटिहोम गर्न र समिधाका लागि शहरका वर–पीपल काट्न दिँदैमा धार्मिकता बढ्दैन, त्यसले अराजकता मात्र बढ्छ । भीडभाड हुने ठाउँमा अन्य महाराजहरूले पनि कमर्सियल नजर लगाउने छन् ।
देश धर्मनिरपेक्ष हो, भोलि अन्य धर्मकाले त्यो ठाउँ मागे दिन पर्ने हुन्छ । त्यसै पनि कोटिहोम ठूलो साधना, विधि, शुद्धता र सबै धार्मिक प्रतिनिधिको सल्लाह र समर्थनमा पवित्र तीर्थस्थल वरपर गरिनुपर्ने हो । पैसा र विज्ञापन मात्र हेरेर मदिरा र मासुको व्यापार हुने पर्यटकीय भीडभाडको क्षेत्रलाई लक्षित गर्नु जायज होइन । ४ महिना भनेको तयारीसहित जोड्दा झन्डै आधा वर्ष हो । यसअघिका कोटिहोममा सांकेतिक रूपमा समाज सुधारका केही घटना भए पनि त्यो धार्मिक कम, राजनीतिक भाषणबाजी बढी जस्तो देखिएको थियो ।
माथिसम्म पहुँच भएका र धार्मिक आस्थासँग जोडिने विषय भएकाले यस्तो विषयमा निर्णय गर्न, कोटिहोमको विस्तृत विवरण माग्न सोचेजस्तो सजिलो हुँदैन । यस्तो संवेदनशील विषयमा सही निर्णय लिन अन्यत्र पनि मुस्किल नै हुन्छ । पोखराले समयमै लिन सकेन । ठूलो वातावरणीय क्षति भयो । अब कोटिहोम रोकेर पनि त्यो क्षतिपूर्ति हुन सक्दैन । तर, थप क्षति नहोस् भन्नेतिर त सोच्न पर्यो ।
सार्वजनिक पदमा बसेपछि गरेका गल्तीमा त खबरदारी र गाली हुन्छ नै, तर गाली गर्ने नाममा गरेभन्दा बढी र कसैको धार्मिक, साँस्कृतिक जीवनमाथि नै प्रहार गर्ने र अर्को धर्मको भनिदिनु पनि अपराध नै हो । त्यो अर्को धर्ममाथिको अप्रत्यक्ष आरोप र गाली पनि हो, जुन हाम्रो धर्मले निषेध गरेको छ । तपाईं निर्णायक निकायमा हुनुहुन्थ्यो भने यस्तो अवस्थामा के गर्नुहुन्थ्यो ?
(गाउँलेको सामाजिक संजालबाट साभार ।)