काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताए । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को बुधबार आयोजित शिलान्यास कार्यक्रममा मन्त्री शाहीले रिसोर्ट निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।’
उनले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताए । उनले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताए । उनले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने र रारा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताए ।
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ । मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब एक अर्ब ५० करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण हुनेछ । दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिने सञ्चालक अभिषेक बिक्रम शाहले बताए । शाहले रारा क्षेत्रमा जतिसक्दो धेरै पर्यटक लगेर रारामात्र नभई समग्र कर्णाली क्षेत्रको पर्यटक विकासका लागि ‘रारा रिसोर्ट’ निर्माण गर्न लागिएको बताए ।