काठमाडौं : सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबार आयोजना हुने भएको छ । फाल्गुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने भएको हो ।
नेपाल भित्रका कृषि उद्यमी, स्वदेशी तथा विदेशी व्यवसायी तथा कम्पनीहरूको प्रदर्शनी स्टल रहने छ ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिनेछ ।
आयोजककाअनुसार प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
प्रर्दशनीमा देशै भरिका अगुवा कृषक, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यवसायी, आयातनिर्यातकर्ता, बैंक तथा वित्तीय संस्थाहरू, अनुसन्धानकर्ता लगायतको उपस्थिति रहने बताइएको छ ।
प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धकको मुख्य भुमिकाको रूपमा रहेको छ भने नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा राष्ट्रिय कृषक समूह महासंघबीच सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।