काठमाडौं : एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरुवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताको पहुँच सुनिश्चित गराउने प्रयास स्वरूप एनसेलले यो सेवा संचालनमा ल्याएको हो । यो सेवाले ग्राहकलाई कुनै पनि वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, उठाउन र एसएमएस आदानप्रदान गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीकाअनुसार वाईफाई कलिका नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला भवनका बेसमेन्टहरू र दुर्गम स्थानहरुमा सेवा लिनसमेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलमा रहेको छ । यो सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । ग्राहकले भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई फाइदा लिएर सम्पर्कमा रहन सक्छन् ।
कम्पनीकाअनुसार भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ । स्लो मोबाइल नेटवर्क भएका ठाउँबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्वीच हुने कमपनीको दाबी छ ।
भोवाईफाई सेवाका साथ मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानमासमेत सेवा प्रदान गर्नका लागि भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ । एनसेलले फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ । भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ ।