काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन यही फागुन ७ देखि १० मा हुने भएको छ । २०४९ सालमा स्थापना भएको संघको अधिवेशन २०५३ सालदेखि हुन सकेको थिएन । २०५३ मा पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारीको कार्यकाल सकिएसँगै यो संगठन गुमनाम थियो ।
१२ मंसिर २०८० मा पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दहाललाई संघको अध्यक्ष मनोनित गरेसँगै संघले आफ्नो गति बढाएको हो ।
देश भित्र छरिएर रहेका प्रजातान्त्रिक योद्धा तथा अमर शहीद परिवारका सन्नतिहरूलाई संगठित गरी पार्टीलाई सहयोग पुर्याउन याे संघलाई भातृसंगठनकाे मान्यता दिएकाे थियाे ।
साेही प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन फागुन ७–१० सम्म आयोजना गरिएको अध्यक्ष दाहालले बताए । नेपाल प्रजातन्त्र सेनानी संघको विधान अनुरूप ९५ सदस्यीय केन्द्रीय तदर्थ कार्य समिति रहेको संघको जिल्ला तथा प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । ७७ जिल्लामा नेपाल प्रजातन्त्र सेनानी संघको सदस्य संख्या ३ हजार २२८ रहेको छ ।
त्यसमध्ये ७५ जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्न ४५७ महाधिवेशन प्रतिनिधि चयन भएर आएको अध्यक्ष दाहालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । मुस्ताङ र रूकुम पूर्वमा प्राविधिक कारणले अधिवेशन गर्न बाँकी रहेको संघले जनाएको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागी अध्यक्ष दहालको संयोजकत्वमा संघका सबै केन्द्रीय सदस्यहरू तथा सात वटै प्रदेश अध्यक्षहरू सदस्य रहने गरी मूल समिति गठन गरिएको छ । विभिन्न उपसमिति बनाएर महाधिवेशनको अन्य तयारीहरु गरिएकाे संगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।