काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम सम्पन्न गरेको छ । कम्पनीले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम गरेको हो । कम्पनीबाट अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले ‘एमडिआरटी २०२५’ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरू सम्मानित भएका हुन् ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताएका थिए । उनले अभिकर्ता सञ्जालको व्यवसायिकरणलाई सधैँ उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरूमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी दिए ।
एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि ३ करोडसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी, ३ जनाले सिओटी र २ जनाले टिओटीको लक्ष्य हासिल गर्न सफल भएका थिए । साथै निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो ।