भारतको उडिसा पढ्न गएकी एक छात्राको रहस्यमय निधनले दुवै देशमा एकप्रकारले हलचल नै आएको छ । बुटवलकी २० वर्षीया प्रकृति लम्साल कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पढ्दै थिइन् । बीआईटी पढ्न गएकी प्रकृति होस्टेलमा मृत भेटिएकीले सुरुमा आत्महत्या भनिएको थियो । तर उनका नेपाली साथीहरू आत्महत्याको पृष्ठभूमि सहित जोडेर प्रदर्शन गरे । त्यहाँ कुनै युवकबाट निरन्तर दुव्यर्वहार भएको र त्यही पीडामा प्रकृतिको ज्यान गएको उनका साथीहरुले दाबी गरेका छन् । दावी अनुसार प्रकृतिले यसअघि दुईपटक क्याम्पस प्रशासनमा निवेदन दिइसकेकी थिइन् । उजुरीलाई गम्भीर रूपमा नलिइदा प्रकृतिले ज्यान गुमाउनु परेको उनीहरुको तर्क छ । तर प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासनबाट दमन गरिएको भिडियो सामाजिक सञ्जालमा फैलियो ।
लगत्तै प्रशासनले नेपाली विद्यार्थीहरू त्यहाँबाट निस्कासित गर्ने सूचना सार्वजनिक भयो । क्याम्पस प्रशासनले आवश्यक चासो नराख्दा प्रकृतिले ज्यान गुमाएको तर्क सार्वजनिक हुनु र प्रदर्शनमा उत्रिएकामाथि दमन गरिएको सूचना सार्वजनिक भएकाले स्वभाविक रूपमा काठमाडौं तातियो । विद्यार्थी संगठनहरूले प्रदर्शन गरे । त्यहाँ १४ सय बढी नेपाली पढिरहेकाले यो तहको चासो स्वभाविक हो । यद्यपि भारतीय प्रहरी प्रशासनको सक्रियता देखिएको छ । अभियुक्त पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट पनि पहलकदमी भइरहेको तथ्य सार्वजनिक भएका छन् । आवश्यक पहलकदमीकै कारण क्याम्पस प्रशासनले क्षमा सहित आफ्नो निर्णय सच्याएको छ ।
तर यस घटनालाई नजीरका रूपमा लिन जरूरी छ । किनकि अहिले संसारका विभिन्न देशमा नेपालीहरू अध्ययनकै निम्ति पुगेका छन् । विकसित देशहरूमा पढ्दै/कमाउँदै गर्ने नेपाली विद्यार्थी संख्या बढिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान जस्ता देशहरूमा फैलिएका नेपालीहरू छिमेकी भारत पुग्नु स्वभाविक हो । यसरी विदेशमा पढिरहेका नेपाली विद्यार्थीले सुरक्षाबारे आवश्यक प्रबन्ध गर्ने काम नेपाल सरकारकै हो । अझ नेपाल र भारतबीच सम्बन्ध विशेष प्रकृतिका छन् । एकअर्काविरूद्धको सद्भाव भड्किन पुग्यो भने त्यसको नतिजा अनुमान भन्दा बाहिर जान सक्छ । त्यसैले कुटनीतिक पहल लिएर दुवै देशका नागरिक एकअर्का देशमा सुरक्षित रहेको सन्देश दिइनुपर्छ । जसको नेतृत्व दुवै देशका सरकार प्रमुखबाट गरिनुपर्छ ।