सुर्खेत : सुर्खेतमा जारी छैटौं संस्करणको कर्णाली उत्सवमा मंगलबार आशालाग्दो अर्थतन्त्रबारे बहस भयो । बहसमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, गोल्ड स्टारका कार्यकारी निर्देशक विदुषी राणा र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल सहभागी भएका थिए । बहसको सहजीकरण गरिरहेका थिए पत्रकार योगेश ढकालले ।
बहसमा आर्थिक मामिलामन्त्री शाहले अर्थतन्त्रलाई स्थिर ल्याउनु मुख्य चुनौती रहेको बताए । उनले प्रदेश सरकारले झ्यालबाट योजना आउने प्रवृत्तिलाई निरुत्साहित गर्न आर्थिक वित्तीय ऐन संसदमा पेश गरेको भनाइ राखेका थिए । ‘अहिले देशको परिस्थिति के भयो भने सबैभन्दा बढी बिजनेश दिने भनेको सरकार नै हो, उनले भने, सरकारको नजिकका मान्छे ठेक्का पट्टा गरेर सफल भइरहेका छन्, जो नजिक छैनन् उनीहरू समस्यामा छन्, व्यापारीहरू पनि व्यापारीकरण भन्दा राजनीतिमै छन् ।’
मन्त्री शाहले कर्णालीमा २२ हजार मेगावाट विद्युत क्षमता रहेपनि उत्पादन र लगानी नभएको बताए । कुनैपनि लगानीकर्ताले प्रदेशमा लगानी गर्न चाहन्छ भने प्रदेशले बाटो, बत्ती, पानीको व्यवस्थापन गरिदिने उनको भनाइ थियो ।
अर्का वक्ता लक्ष्मण कँडेलले बहसमा सबल अर्थतन्त्रका लागि राज्यले धेरै काम गर्नुपर्ने धारणा राखेका थिए । ‘निजी क्षेत्रले नाफा कमाउन सकेमात्र राजस्व बढ्ने हो, तर हामी कहाँ निजी क्षेत्रलाई कमाउन आएका हुन भन्ने आरोप लगाइन्छ’, उनले भने, ‘निजी क्षेत्रले आफ्नो सबै भएका बैँकमा राखेर व्यापार, व्यवसाय गरिरहेको हुन्छन्, त्यसको संरक्षण गर्ने दायित्व सरकारको हो ।’
सरकारले हालै ल्याएको अध्यादेशबाट केही आशा पलाएको बताउँदै उनले नेपालमा नीतिगत समस्याहरू धेरै भएको भन्दै बैंकदेखि इन्स्योरेन्समा लगानीगर्नेहरू एउटै घरानाका भएको बताएका थिए ।
निजी क्षेत्र नआएको भए लुम्बिनीमा २० वटासम्म सिमेन्ट उद्योग कसरी खुल्थे भन्ने प्रश्न गर्दै उनले निजी क्षेत्रलाई अपमान गर्न नहुने बताए । कर्णाली प्रदेशको आफ्नो उत्पादनमा जाने हो भने खानी, खनिज, हाइड्रोको क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।
गोल्ड स्टारका कार्यकारी निर्देशक विदुषी राणाले आफ्नो उद्योग ५५ वर्षदेखि नेपाली बजारमा टिकेको बताइन् । उनकाअनुसार अहिले सो उद्योगले देशभर, भारतको युपीबिहारमा मात्रै ४० प्रतिशत, अष्ट्रेलिया लगायतका अन्य देशहरूमा पनि गोल्डस्टार पुगेको छ । गोल्डस्टारले तीन हजारभन्दा बढी रोजगारी दिएको र त्यसमा महिलाको संख्या धेरै भएको उनको भनाइ थियो । साथै उनले भारतबाट चोरी पैठारी भएर जुत्ताचप्पल आउँदा राज्यले स्वदेशी उद्योगलाई संरक्षण नगरेको बताएकी थिइन् ।