काठमाडौं : दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । फागुन ८ गते देखि ११ गते सम्म काठमाडौंको भृकृटीमण्डपमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरूका १५० भन्दा बढी स्टलको सहभागितामा सो प्रदर्शनी हुने भएको हो ।
प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरू पनि रहनेछन् । सो क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुंगा सावित हुँदै आइरहेको आयोजकले जनाएको छ । सो प्रदर्शनीमा निर्माण सामग्री, रासायनिक पदार्थ, मेसिनरी, प्रीफ्याब संरचना, युपिभीसी झ्याल मेसिन, झ्याल तथा ढोका, लगायतका सामग्रीहरू रहनेछन् ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुने दाबी गरिएको छ । सो प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने आयोजकले जनाएको छ । साथै, सो प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरूको उल्लेख्य सहभागिता रहने छ । चार दिनसम्म सञ्चालन हुने सो प्रदर्शनीमा प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।