काठमाडौं : नेपालमा संचालित अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)का सबै कार्यक्रम स्थगित भएका छन् ।
अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गरी एमसीसीका सबै परियोजना हाललाई स्थगित भएको जनाएको छ ।
नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको थियो । एमसीसीअन्तर्गत अमेरिकाले करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान रकमको परियोजना सम्झौता गरेको थियो । सम्झौताअनुसार एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका काम अघि बढेको थियो ।
एमसीसी र नेपाल सरकारको रकमबाट अन्तरदेशीय प्रसारण लाइन र सडक स्तरोन्नति परियोजना अगाडि बढाइएको थियो । यो परियोजना ५ वर्षभित्र सक्नेगरी कामहरू धमाधम भइरहेका थिए । जग्गा अधिग्रहणलगायतका कामहरू भइरहेका बेला अनुदान रोकिएसँगै नेपालको संसद्ले समेत ठूलो कसरतका साथ अनुमोदन गरेको यो परियोजनाको भविष्य नै अन्योलमा परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा जारी गरेको कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएका थिए ।
एमसीसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ ।
‘कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने सबै क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको’ एमसीसीले अर्थ मन्त्रालयलाई २ फागुनमा इमेलमार्फत पठाएको पत्रमा उल्लेख छ ।
यसअघि यूएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् । तर, एमसीसीबारे अन्योल कायम रहेका बेला परियोजना नै स्थगन भएको हो ।
एमसीसी सम्झौताअनुसार कुनै एक पक्षले चाहेमा ९० दिनको समय दिएर सम्झौता रद्द गर्न सक्ने व्यवस्था छ । तर, अमेरिकाले स्थगनको पत्र पठाएर तत्कालै लागू हुनेगरी सम्झौता स्थगन गरेको हो ।