२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन्’

shivam cement
मध्यान्ह
२०८१ असार १५ गते १५:४५
नयाँ स्वरूपमा हिमालले ल्याए ‘न मैले लेखें, न उनले लेखिन्’

काठमाडौं : चर्चित गायक हिमाल सागरको स्वर र संगीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन्’को नयाँ भर्सन तयार गरिएको छ । शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै गायक हिमाल सागरले नै आधुनिक स्वरूपमा तयार गरेको उक्त गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका छन् । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालीन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए । 

‘कन्सर्टमा म देश होस् वा विदेश सबैभन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौं, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ’, गायक हिमालले भने ।

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’,‘तिमीले माया नगरे’,‘मेरो मनमा आगो लाउने को’,‘तीन ढिके फूली लाएर आइछौ’,‘कल्लाई थाहा छौं’लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले सांगीतिक कार्यक्रमका लागि ६५ वटाभन्दा बढी देश भ्रमण गरिसकेका छन् । 

उनले भने, ‘मलाई उक्त समयमा स्थापित गर्ने गीतले नयाँ पुस्ताको मन जित्नेमा विश्वस्त छु । यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुँदैन । यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गास्नेछ ।’

गीतमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । अभिनेत्री केकी अधिकारी यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मनपर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन् । उनले भनिन्, ‘यो गीत सुन्न रेडियोमा फरक फरक नाममा फोन गर्थे । धेरै साथीलाई डेडीकेट पनि गरेकी छु । यो गीत मेरो सधै फेवरेट थियो । अहिले नयाँ भर्सनमा बन्दा काम गर्ने मौका पाउँदा निकै हर्षित छु ।’

उनले आफू अष्ट्रेलियामा रहँदा नै यस गीतको भिडियोमा काम गर्ने अफर आएका कारण भ्रमण छोट्याएर नेपाल फर्किएर काम गरेको बताइन् ।

गीतमा निकेश खड्काको निर्देशन, धीरजजंग शाहको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ । पहिलो भिडियोभन्दा फरक र सरल प्रस्तुतिमा नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए । 

उनले भने, ‘पुरानो लोकप्रिय गीत हुँदा सम्पूर्ण दायित्व भिडियोमा आउँछ किनकि गीत पहिले सफल भइसकेको हुन्छ । त्यसकारण यसको प्रस्तुतीकरणमा सोही दायित्वबोध गरेको छु । यसमा पनि प्रेम प्रसंग नै देखाएको छु तर शैली फरक छ । यो गीतको कथासँग अहिलेको पुस्ताले रिलेट गर्नु हुनेछ भन्ने विश्वास छ ।’

निर्देशक खड्का यसअगाडि गायक यश कुमारको ‘हिजो अर्कैसँग देखे’ र ‘तिम्रो मन बदलिए छ’, गायक प्रमोद निर्वाणको ‘किन यसरी’, गायक दीपक लिम्बूको ‘सागर बरू सुकेर गईजाला’ बोलको गीतहरूको रीमेक भर्सनको भिडियो तयार गरिसकेका छन् । 

भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise