‘इनफ इज इनफ’ समूहले सरकार सँगको वार्ता पछाडि साउन २५ गते अनशन तोडेका छन् । पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली आफै अस्पताल पुगेर प्रतिबद्धता जनाएपछि अनशन तोडेका यो समूह दोस्रो पटक २३ दिनसम्म अनशन बसेका थियो । यो समूहका ईः सहितलाई अनशन तोडाउन उपप्रधानमन्त्री एवम् कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले १३ बुँदे प्रतिबद्धता जनाएका छन् ।
असार १८ गते प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेर १६ बुँदे सहमति गरेका थिए । तर, सहमति कार्यान्वयन नभएको भन्दै यो समूहले साउन ३ गतेबाट फेरि अनशन शुरु गरेका थिए । अनशनरतहरुको जीवन रक्षाका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, विपक्षी दलहरु साझा पार्टी लगायतले समर्थन जनाएका थिए । प्रधानमन्त्री ओली आफैंले गरेको सहमति कार्यान्वयन नभएकाले माग पूरा नभएसम्म अनशन जारी राखेको यो समूहले दुई दिन अगाडि १३ बुँदे सहमति गरेको छ ।
अनशनमा बस्ने तिनै समूह हुन् । जसले केही समय अगाडि झण्डै सरकारलाई नै घुँडा टेकाएका थिए । पीसीआर परीक्षणको सुनिश्चितता माग गर्दै यही समूहले राजधानी उपत्यका सहित देशभर प्रदर्शन गरेका थिए । त्यसबेला पनि यो समूहमाथि सरकारी हस्तक्षेप भएको थियो । लगातार तीन दिन ठूला शहरहरुमा प्रदर्शन भएपछि सरकारले पीसीआर परीक्षणको दायरा बढाउने, कोभिड महामारी नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्ने लगायत निर्णय गर्न बाध्य भएको थियो । फेरि, पनि महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै ईः लगायतले दुई पटक अनशन गरिसकेका छन् ।
तर, महामारी नियन्त्रणमा सरकार आफैं अलमलिदै आएको छ । कुनै अध्ययन बिना लकडाउन गरिएको, लकडाउन अन्त्य गर्न पनि गतिलो अध्ययन नगरिएको र फेरि लकडाउनबारे प्रधानमन्त्री ओली आफैंले विषय विज्ञहरुसँग छलफल गरेका छन् । अर्थात्, सरकार शुरुबाटै अलमलमा देखिएको छ भने महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्नबाट चुक्दै आएको छ । अर्थात्, फेरि पनि अनशनरत समूहको माग पूरा हुने बलियो आधार देखिदैन । एउटा लोकतान्त्रिक र जनताप्रति उत्तरदायी सरकारमा यस्तो प्रवृत्ति देखिनु आफैंमा लज्जाको विषय हो । ज्यानकै माया मारेर आन्दोलनमा उत्रनु र अनशनमा उत्रनुको पछाडि आम सर्वसाधरणको जीवनरक्षाको माग छ । तर, सरकारको नैतिकता भने पटक–पटक आफैंमा अनशनमा देखिदै आएको छ । सरकारले आफ्नो जीवन रक्षा गर्न जनताको जीवनरक्षा पहिलो सर्त हो भन्ने भुल्न हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies