धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सेती प्रादेशिक अस्पताल गाभेर भए पनि कैलालीको गेटामा शिक्षण अस्पताल सुरु हुने बताएका छन् ।
धिनगढीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले गेटामा निर्माण भइरहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि पनि सरकारले तयारी गरिरहेको बताए । ‘सेती प्रादेशिक अस्पताललाई जोडेर भए पनि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरिसक्नु भएको छ’, उनले भने ।
कैलालीको गेटामा झन्डै ७ अर्बको संरचना बनिसक्दा पनि त्यहाँ न चिकित्सा शिक्षाको अध्यापन हुन सकेको छ, न त्यहाँ राम्रो अस्पताल नै सञ्चालन भएको छ ।
उनले दोधाराचाँदनीमा निर्माणको प्रक्रियामा रहेको सुख्खा बन्दरगाहको पनि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको बताए ।
‘दोधाराचाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माणका लागि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको जनाएको छ । नेपाल सरकारको तर्फबाट त्यहाँको रुख कटानको आदेश पनि भइसकेको छ । रुख कटानका लागि सूचनासमेत प्रकाशित भइसकेको छ । भारत सरकारले निमार्णको ठेक्का गर्ने बित्तिकै रुख कटान पनि सुरु हुनेछ’, मन्त्री भण्डारीले भने ।
उनले भारतको मुन्द्रा सामुद्रिक बन्दरगाहलाई लक्षित गरी बन्दरगाह निर्माण भइरहेको बताए । ‘नेपालले मुन्द्रा सामुद्रिक पोर्ट पायो भने अहिलेको यातायातको दूरी भन्दा १५ दिनको छोटो दुरी हुन्छ, यसले नेपालको आयात निर्यातमा एकदमै सहज हुन्छ,’ मन्त्री भण्डारीले भने ।
‘पूर्वाधार निर्माणमा झन्जटिलो प्रक्रिया भएका कारण देशमा विकासको गति सुस्त भइरहेको छ । सरकारले त्यसलाई सहज पार्नका लागि विधेयकहरू ल्याएको छ । देशविकासका लागि ती विधेयकहरू सदनले पास गर्नेछ’, उनले भने ।