काठमाडौं : निजामती सेवाअन्तर्गत ४२६ शाखा अधिकृतको पद रिक्त रहेको पाइएको छ । ठूलो संख्यामा शाखा अधिकृतको पद रिक्त हुँदा पनि पदपूर्तिका लागि सम्बन्धित निकायबाट पहलकदमी नभएको भनेर कर्मचारी संगठनले सरकारको ध्यानाकर्षण गरेका छन् ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको टोलीले मुख्य सचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाएको छ, जसमा ४२६ शाखा अधिकृतको पद रिक्त रहेको उल्लेख गर्दै पदपूर्तिका लागि आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार हाल पदपूर्तिको चरणमा रहेको कुल स्वीकृत दरबन्दी २ हजार ३५७ भएको राज पत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत पदको सम्बन्धित मन्त्रालय÷आयोग र अन्य निकायबाट प्राप्त भएका माग आकृति फारमअनुसार ४२६ शाखा अधिकृतको पद रिक्त देखिएको छ ।
यसमध्ये विज्ञापन हुँदा ८४ पदहरूलाई रिक्त देखाई विज्ञापन भएको देखिएको भनेर संगठनले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गरेको छ । यस सम्बन्धमा संगठनले मागपत्रमा लेखेको छ, ‘हाल कायम दरबन्दी र हाल कार्यरत कर्मचारी साथै हाल रिक्त र यस आर्थिक वर्षमा रिक्त हुने पदहरूसमेत गणना गरी कुल रिक्त दरबन्दी कायम गरी सम्मानित अदालतको आदेशानुसार अविलम्ब पदपूर्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउनुपर्ने ।’
स्थानीय तहमा रहेको दरबन्दीकै पदमा कार्यरत शाखा अधिकृतको पद पूर्ति हुन सकेको छैन । यसले नागरिकप्रतिको कर्तव्य निर्वाहमा समेत असर पारेको छ । राष्ट्रिय निजामती कर्मचारी संगठन अध्यक्ष अम्बादत्त भट्टका अनुसार ठूलो संख्यामा शाखा अधिकृतको पद रिक्त हुँदा स्थानीय तहबाट हुने सेवा प्रवाहमै समस्या परेको छ । उनी भन्छन्, ‘स्थानीय तहमा रहेको दरबन्दीकै पदमा कार्यरत शाखा अधिकृतको पद पूर्ति हुन सकेको छैन । यसले नागरिकप्रतिको कर्तव्य निर्वाहमा समेत असर पारेको छ ।’
कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीहरूलाई हुँदै आएका अपमान, ज्यादती, कुटपिट बन्द हुनुपर्ने मागसमेत राखेको छ । मागपत्रमा अगाडि भनिएको छ, ‘कालोमोसो दल्नेजस्ता आपराधिक गतिविधि गर्नेहरूमाथि तत्काल कानुनी कारबाही गरी सार्वजनिक गर्नुपर्ने ।’
ज्ञापनपत्रमा तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको उल्लेख छ । यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा– २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको पनि उल्लेख छ ।
यी घटना उल्लेख गर्दै अगाडि भनिएको छ, ‘स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरूमाथि गम्भीर अवस्थामा पुग्नेगरी गुन्डागर्दी शैलीमा कुटपिट गर्नु कानुनी राज्यको ठाडो उपहास हो ।’ ज्ञापनपत्रमा कर्मचारीमाथि कार्यस्थलमै भएका कतिपय घटनाले कर्मचारीको सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख छ । यस्तो घटनाले कर्मचारीको मनोबल घट्न गई सेवा प्रवाहसमेत प्रभावित भएको भनिएको छ ।