रामसिंह यादव मधेशको राजनीति र समाज सेवामा स्थापित नाम हो । धनुषा जिल्लाका यादवले संविधानसभा सदस्यमा निर्वाचित भइ संविधान बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता यादव तत्कालिन माओवादी र कांग्रेसको गठबन्धन भएर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री भएर काम गरिसकेका छन् । बौद्धिक एवं मधेशमा अत्याधिक रुचाइएका नेता यादवले कोरोना महामारी शुरु भएपछिको अवस्थामा विभिन्न सामाजिक संस्थाहरु र व्यक्तिगत पहलमा गरिब तथा विपन्नहरुलाई राहत बाँड्ने कार्यमा समेत सक्रिय भए । यसबीचमा उनले मधेशमा सयौँ घरपरिवारलाई राहत बाँडेका थिए । उनै नेता एवं समाजसेवी यादवसँग मध्यान्ह राष्ट्रिय दैनिकका लागि रिसव गौतमले गरेको कुराकानीको सारसंक्षेप ।
नेकपाको विद्यमान आन्तरिक किचलो र विवादलाई यहाँले कसरी हेर्नुभएको छ ?
अहिले नआउनुपर्ने विवाद आएको छ । नेपाली जनताले नेकपालाई अद्भूत काम गर्ने एउटा मौका दिएका थिए । जनताले ठूलो पार्टी बनाएर नेकपालाई काम गर्ने मौका दिएका थिए । यस्तो बेलामा पार्टी भित्र देखिएको विवाद राम्रो हुँदै होइन । नगर्नुपर्ने बेलामा यस्तो विवाद भइरहेको छ । यसलाई हामी नेता कार्यकर्ता र जनता सबैले नकारात्मक रुपमा नै लिएका छौं । काम गर्ने बेलामा विवाद आउनु हुन्नथ्यो तर, आयो । यसका धेरै भित्रि कारणहरु छन् । एउटा त के पनि हो भने ठूलो र जिवित पार्टीमा यस्ता विवादहरु स्वभाविक रुपले हुन्छन् पनि । यसलाई सही ढंगबाट समाधान गर्नुपर्छ ।
पार्टी भित्र विधान छ । प्रक्रिया छ । त्यो प्रक्रिया, विधान र विधिअनुसार विवादलाई समाधान गरेर जानुपर्ने हो । अर्को के छ भन्दा दुई पार्टीको एकता कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट पार्टीहरुबीचको एकता पहिले त नेकपा एमाले भित्र पनि कतिवटा पार्टी मिलेर आएको थियो । नेकपा माओवादी भित्र पनि धेरै पार्टी मिलेर आएका हुन् । यी दुईवटा ठूला पार्टीको एकीकरणले स्वभाविक रुपले केही कार्यकर्ताहरुलाई सन्तुलित व्यवस्थापन गर्न, राजनीतिक रुपले पनि र वैचारिक रुपले पनि कार्यकर्ता अगाडी बढाउनका लागि केही समय त लाग्छ । यो बीचको समय के हुन्छ भने संक्रमणकालिन समय हुन्छ । यसलाई व्यवस्थापन गर्न सकिएन भने यस्ता विवादहरु स्वभाविक रुपमा आउँछन् । एकीकरण भयो, एकता भयो, तर पार्टीमा सबैको राम्रो व्यवस्थापन हुन सकेको छैन । व्यवस्थापन नभएपछि जिम्मेवारी नपाएका कार्यकर्ताहरुमार्फत यस्ता विवादहरु आउँछन् । नेता कार्यकर्ता सबै सचेत ढंगबाट अगाडी बढेर विद्यमान समस्याको हल खोज्नुपर्छ ।
बाहिर त पार्टी फुट्ने तयारी नै भइसक्यो भन्ने आएको छ नी ?
मिडियामा जे आएका छन्, ती एक खालका कुरा भए । सबै सत्य पनि आएका छैनन् । तर पार्टी फुट्ने कुरा त्यति सजिलो पनि छैन । पार्टी विभाजन गरेर जान सक्ने सम्भावनालाई अहिले हामी स्वीकार गरेर नजाउँ । हामी नर्काछौं । नेपाली राजनीतिमा धेरै पार्टीहरु फुटेका छन् । विभाजित भएर जाने पार्टीका नेताहरुलाई नेपाली जनताले कहिल्यै विश्वास गरेका पनि छैनन् । चाहे कम्युनिष्ट पार्टी होस् वा कांग्रेस होस् । चाहे दक्षिणपन्थी पार्टी हुन् । सबै हामीले नेपालको राजनीतिमा अभ्यास आइसकेको छ । जसले पार्टी फोरेर जान्छ त्यसलाई जनताले स्थापित गरेको इतिहास छैन । त्यसकारण सजिलै पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।
एक जना पार्टी नेता–कार्यकर्ता र पूर्वमन्त्रीको पनि हैसियतमा पार्टीमा देखिएको विवाद र संकट हल गर्न नेतृत्वलाई कस्ता उपाय सुझाउनु हुन्छ ?
एउटा पार्टीको सदस्यको हैसियतले भन्दा जुन मूल्य र मान्यताको आधारमा पार्टी एकीकरण भयो । सिद्धान्त जे कुरालाई व्यवस्थापन गर्नुपथ्र्यो । कार्यकर्तालाई जिम्मेवारी एक ढंगले गर्ने, पार्टीले जुन एउटा उद्देश्य बोकेको छ । त्यो उद्देश्यअनुसार पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिहरुले आफ्नो भूमिकालाई सही ढंगबाट निर्वाह गर्दै जाने हो भने मलाई लाग्छ पार्टी एकीकरण पनि मजबुद हुन्छ । र, पार्टी एकता पनि बलियो भएर जान्छ । नेपाली जनतालाई पनि विकास र समृद्धिको दिशामा अघि लान सकिन्छ ।
पार्टी फुट्ने नै अवस्था आयो भने नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य के होला ?
मैले अघि पनि भने पार्टी फुट्ने अवस्था त आउँदै आउँदैन । त्यो सम्भावना अत्यन्तै कम छ । यदि फुटिहाल्यो भने पनि म के देख्छु भने नेपाली जनताले जुन एउटा विश्वास कम्युनिष्ट प्रति राखेका छन् । त्यसमा नेपाली जनतालाई ठेस पु¥याउने काम हुन्छ । नेताहरुको आफ्नो–आफ्नो ढंगबाट, व्यक्तिगत स्वार्थ होला । या पद लोलुपको आधारमा होला । जे होस् उनीहरुको स्वार्थ पूरा होला या नहोला । म भन्न चाहदिन । तर के हो भने नेपाली जनताको आस्थाको केन्द्र रहेको कम्युनिष्ट पार्टी, कम्युनिष्ट विचारप्रति नेपाली जनताको निराशा बढ्ने सम्भावना प्रवल देख्छु ।
पार्टीभित्रको अहिलेको विवाद सैद्धान्तिक हो कि व्यक्तिगत ?
मैले अघि पनि भने खासगरी कुवेलामा उठेका कुरा हुन् यी । अहिले देशमा महामारी छ । आर्थिक संकट छ । देशले एउटा गतिलिन सकेको छैन । पार्टीप्रति जनताको आशा र विश्वास अनुसार काम अघि बढ्न सकेको छैन । झन् पार्टीभित्र यस्तो कचलोले धेरै नै नोक्सान हुन्छ ।
प्रधानमन्त्रीमाथी पार्टीको निर्णय नमानेको, एकलौटी अघि बढेको, विधान र विधिअनुसार नचलेको भन्ने आरोप छन् नी ?
म एउटा कुरा समग्रमा के भन्छु भने कसले मान्यो कसले मानेन त्यो आन्तरिक विषय हो । हाम्रो त जिम्मेवारी त्यहाँसम्म छैन । बाहिर हामीले हेर्दाखेरी कमि कमजोरी दुवैतर्फ छ । दुईतर्फी एकजुट भएर एकताको मानसिकता बनाएर समस्याको सामाधान गर्ने कुरा हो । समन्वय गरेर जानुपर्ने कुरा हो । अहिलेसम्म कसको बढी र कसको कम गल्ती भनेर भन्दा पनि गल्ति भएका छन् । त्यसलाई सुधार गरेर जानुपर्छ । यही नेपाली जनताको चाहना हो ।
कार्यकारी अध्यक्ष प्रचण्डले त अर्का अध्यक्ष तथा प्रमकै अग्रसरतामा पुरानो एमाले पार्टी दर्ता गरिएको, एमाले ब्युताउँन खोजिएको भनेका छन् नी ?
कसले के भन्यो त्यो कुरा तपशिलका विषय हुन् । पार्टीका कमिटीहरु छन् । सचिवालय छ । स्थायी कमिटी छ । केन्द्रीय कमिटी छ । विधि विधान छ । त्यो सबैलाई आधारभूत कुरा मानेर एकताको सोचबाट बैठकहरु बस्ने र निर्णयहरु गर्ने हो भने समस्या हल हुन्छन् । पार्टी फुट्दैन । अनिमात्र नेपाली जनताको आशाको केन्द्र रहेको कम्युनिष्ट पार्टीमाथि फेरि पनि जनताले विश्वास गरेर जान्छन् ।
कोरोना महामारीको समयमा तपाईंले खासगरी मधेसमा राहत तथा उद्धारको काम गर्नु भएको भन्ने सुनियो । तपाइँले गरेका सामाजिक कामको बारेमा अलिकति बताइदिनुहोस् न ?
कोरोना महामारी शुरु भएर लकडाउन भएको बेलामा आर्थिक रुपले विपन्न रहेका घरपरिवारहरु जसलाई खान, बस्न समस्या थिए । उनीहरुको पीडामा अलि–अलि मलम लगाउने प्रयास गरेको हुँ । खासगरी सामाजिक भूमिकामा रहेका हामीहरुले ठाउँ–ठाउँबाट रकम संकलन गरेर, सामाजिक संस्थामार्फत सहयोगहरु जुटाएर त्यो खालका राहत तथा उद्धारका कार्यक्रम चलाएका हौं । समस्याग्रस्थ धेरै नागरिकलाई सहयोग गर्ने काम गर्यौं । उनीहरुको दुःखमा हामीले सहभागिता देखायौं । त्यसलाई हामीले मानवीय धर्मको रुपमा पनि लिएका छौं । ठाउँ–ठाउँ, गाउँगाउँमा गएर नागरिक सचेतता अभियान पनि हामीले चलायौं । त्यसले केही न केही जनतामा कोभिड प्रति सचेतना दियो । सामाजिक विकास अनुसन्धान केन्द्र, कालिदास नेपाल, वल्र्ड रिन्यु जस्ता मानविय क्षेत्रमा काम गर्ने संस्थासँगको सहकार्यमा असहाय, गरिब, अपाङ्गहरुमा हामी गएर राहत बाँड्ने काम गरेका हौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies