काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
महाशिवरात्रिको तयारी अवस्थाबारे जानकारी लिन शुक्रबार बिहान पशुपतिनाथ पुगेका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।
उनले विगतका वर्षहरूमा भन्दा अझ बढी व्यवस्थित बनाई भक्तजनलाई सहज रूपमा दर्शन गर्न मिल्ने गरी तयारी गर्न आग्रह गरे । उनले महाशिवरात्रि नेपालीहरूको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपतिनाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्रि भएको उल्लेख गरे । महाशिवरात्रीलाई जति व्यवस्थित गर्न सक्यो त्यति नै महत्त्व बढ्ने उनको भनाइ छ ।
मन्त्री पाण्डेले, ‘‘यो निकै महान् पर्व हो । नेपाललाई चिनाउने पशुपतिनाथ र पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन भनेको महाशिवरात्रि हो । त्यो दिनलाई जति व्यवस्थित गर्न सक्यौँ, जति राम्रो गरी सञ्चालन गर्न सक्यौँ । देश विदेशबाट आएका भक्तजनहरू शिवरात्रिमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महसुस गर्न सक्नुभयो, त्यति नै महत्त्व, महाविशरात्रीको महत्त्व र देशको महत्त्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ । तयारी तीव्र गतिमा भइरहेको छ । रङरोगनको काम भइरहेको छ । यस पटकको शिवरात्रि अझ व्यवस्थित हुनेछ, भक्तजनहरू अझ सन्तुष्ट हुनुहुनेछ ।’’
उनले महाशिवरात्रि मूल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए ।