सर्लाही : उद्योग वाणिज्य संघ लालबन्दीले फागुन २३ गतेदेखि चैत ४ गतेसम्म दोस्रो लालबन्दी महोत्सव आयोजना गर्ने भएको छ । 'आर्थिक समृद्धि र स्वरोजगारको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार' भन्ने मूल नारासहित लालबन्दी-९ बस्तीपुरमा रहेको हुलास खाद्य उद्योगको परिसरमा महोत्सव आयोजना गर्न लागिएको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
संघका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले सुस्ताइरहेको र कठिन अवस्थामा गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको बताए । उनले यो महोत्सवबाट लालबन्दी नगरको पहिचान बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष बलम्पाकीले पत्रकार सम्मेलनमा भने, 'दोस्रो पटक हुन लागेको यस महोत्सवबाट लालबन्दी नगर सहित सर्लाही जिल्लालाई समेत चिनाउन मद्दत पुग्छ भन्ने विश्वास लिएका छौं ।
महोत्सव आयोजना गर्न ७२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । १० दिनसम्म आयोजना हुने महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष बलम्पाकीले बताए । महोत्सव आयोजना गर्न लालबन्दी नगरपालिकाले विनियोजन गरेको ९ लाख टिकट बिक्रीबाट २५ लाख, स्टल भाडाबाट १६ लाख र विभिन्न क्षेत्रबाट आम्दानी तथा सहयोग प्राप्त हुने आयोजकले बताएको छ ।
महोत्सवमा विभिन्न जातजातिका परिकार, भेषभूषा, कृषिजन्य उत्पादनलगायत व्यापारिक स्टलहरु रहने छन् । १० दिन चल्ने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको सांगीतक प्रस्तुति रहने छ । मधेश प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिता समेत रहने महोत्सव आयोजक समितिका संयोजक पूर्णप्रसाद चौलागाईंले जानकारी दिए । उनका अनुसार गायन र नृत्यमा प्रथम हुनेलाई १-१ लाख नगद पुरस्कार पाउने व्यवस्था गरिएको संयोजक चौलागाईंले बताए । महोत्सव स्थालमा सर्वसाधारण प्रवेशका लागि ८० रुपैयाँ, विद्यार्थी र शारीरिक अपाङ्गता भएकाहरुका लागि ५० रुपैयाँ टिकटदर राखिएको आयोजकले जनाएको छ ।