२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार १५ गते २१:२०
छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं : ‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीबार काठमाडौंको र्‍याडिशन होटेलमा उक्त समारोह सम्पन्न भएको हो ।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कार्यक्रममा नेपाल, भारत, बेलायतलगायतका देशबाट सहभागिता जनाएका अतिथिहरुलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिइन् ।

प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तिहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सात सयभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो ।

सोक्रममा कला साहित्य र संस्कृतिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न विधाका करिब ४ दर्जन बढी प्रतिष्ठित व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढी व्यक्तित्वहरुले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरु गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुति रहेको समारोहमा भारतीय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्‍याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्‍याम्प शोसमेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख रानाले यस्ता कार्यक्रमहरुबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुवै देशको संस्कृति प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताइन् । यसरी दुई छिमेकी मुलुकको सांस्कृतिक सम्वद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवादसमेत दिइन् ।

यस्तै उक्त समारोहमा बलिउड अभिनेत्री जय प्रदालाई सम्मान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गरेका थिए । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोस्रो घर भएको र यसरी नेपालीको माया पाउँदा आफू निकै हर्षित भएको भन्दै खुसीसमेत व्यक्त गरिन् ।

यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलगायतलाई आफ्नो तर्फबाट सम्मान गरिन् ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसी, अभिनेत्रीत्रय बसुन्धारा भुसाल, चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी, राजाराम पौडेल, देविका बन्दना, राजु सिंह, नारायण प्रधानका साथै अभिनेता सरोज खनाल, संगीतकार शम्भुजित बासकोटा, प्रहरी अतिरिक्त महानिरिक्षक भिम प्रसाद ढकाल, नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतीय गुगल आन्टी ७९, प्रिमिला हिंगोरोनी, युकेकी प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतीय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यवसायी एवम् सामाजिक अभियान्ता डा.अनुप शर्मा, भारतीय चर्चित डान्सर हिमांशु द्विवेदी, टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा. अर्पणा शाह, चेम्बरका पदाधिकारीहरु, पर्यटनविद्, संस्कृतिविद्लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेत्री जय प्रदाले आफू अभिनित चर्चित गीत ‘डफली वाले’मा प्रस्तुति दिएकी थिइन् । सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाइनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईंटेललगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए ।

अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि २ दिने नेपाल भ्रमणमा आएकी थिइन् भने उनीसहित भारतबाट करिब ४ दर्जन बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise