काठमाडौंं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका शुक्रबार सार्वजनिक गरेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि त्रिविले कार्यतालिका सार्वजनिक गरेको हो ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले १९ फागुनदेखि ५ चैतसम्मको निर्वाचन कार्यतालिका बनाएको छ ।
कार्यतालिकाअनुसार १९ फागुन दिउँसो ३ बजेसम्म संघ÷संगठन÷समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै, २१ फागुनमा मतदाता सूची प्रकाशित गरिने, २५ फागु्नमा मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
त्यस्तै, २७ फागुनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । उम्मेदवारले २९ फागुन दिनको २ बजेदेखि २ चैत राति १२ बजेसम प्रचारप्रसार गर्न सक्ने छन् भने त्यसपछि मौन अवधि सुरु हुने छ । ५ चैत बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन १५ फागुनमा गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले विद्यार्थी कल्याण परिषद्को बैठकअनुसार ५ चैतमा निर्वाचन गरिन लागिएको बताए । निर्वाचनमा २८ फागुन २०५३ पछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
वर्तमान कार्यसमितिको २ वर्षको कार्यकाल राखिएको छ । ५ चैतमा वर्तमान कार्यकाल ठीक २ वर्ष पुग्छ । कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको थियो ।
यसअघि ५ चैत २०७९ मा स्ववियु निर्वाचन भएको थियो । प्रत्येक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको थिएन । ६ चैत २०६५ मा भएको स्ववियु निर्वाचन एकै पटक १५ चैत २०७३ मा भएको थियो । त्यसपछि ५ चैत २०७९ मा देशभर केही क्याम्पसबाहेक निर्वाचन भएको थियो । त्यतिबेला ९ वटा आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन ।
यस पटक स्ववियु निर्वाचन देशभरका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।
स्ववियु निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता पनि जारी भएको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’अनुसार आचारसंहिता तोकिएको बताए । उनका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्नेगरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारका पोस्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न नपाइनेसमेत उल्लेख छ ।
यस्तै, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले संचालन गर्न सक्ने र उक्त कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ ।
निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।