गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारमा अव्यवस्थित रुपमा राखिएका सामग्री उठाउन थालेको छ । व्यवसायीले सडकपेटी भन्दा बाहिरी क्षेत्र मिचेर फुटपाथमा सामग्री राखेर ट्राफिक व्यवस्थापन र पैदल यात्रीलाई असहज बनाएको भन्दै नगरपालिकाले फुटपाथका सामग्री उठाएको हो ।
बारम्बार सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गरिएको तर केही व्यवसायीहरूले अटेरी गरेपछि बाध्य भएर सामग्री उठाउनु परेको रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।
फुटपाथ नै मिच्ने पाँच व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको र एक सय भन्दा बढी व्यवसायीहरूलाई बिक्रीका लागि राखिने सामग्री आगामी दिनमा आफ्नो क्षेत्र भन्दा बाहिर नराख्न थप सुझाव दिइएको अधिकृत खनालले बताए ।
रेसुङ्गा नगरपालिकाले फुटपाथका व्यवसाय गर्ने घुम्ती व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि निश्चित स्थान तोकेको छ । तोकिएको स्थानमा मात्र व्यवसाय गर्न नगरपालिकाले आग्रह गरेको छ ।
रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गुल्मी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श र उद्योग संघ गुल्मी लगायत सबैसँग बसेर छलफल गरेर व्यवसायीलाई पटकपटक भनिएको र अटेरी गरेपछि नगरपालिकाले थप कदम अगाडि बढाएको बताए ।