–शिव विक ‘मिलन’
नेपाल कृषिप्रधान देश हो, जहाँ जनसंख्याको ठूलो हिस्सा कृषि पेसामा संलग्न छ । तर, आधुनिक समयमा नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकिरहेको छैन । खाद्यान्न, फलफूल, तरकारी, दूध, मासुजस्ता धेरै कृषि सामग्रीहरू विदेशबाट आयात गर्नुपरेको छ ।
कृषिमा आत्मनिर्भरता प्राप्त गर्नु भनेको देशको अर्थतन्त्र बलियो बनाउनु मात्र होइन, रोजगारी सिर्जना गर्नु, खाद्य सुरक्षालाई मजबुत पार्नु र आत्मनिर्भर समाज निर्माण गर्नु पनि हो ।
नेपाल कृषिमा आत्मनिर्भर हुनका लागि कृषि प्रणालीको आधुनिकीकरण, वैज्ञानिक खेती, प्रविधिको प्रयोग, भूमि सुधार, सरकारी नीतिगत सुधार, युवाको संलग्नता, सहकारी प्रणालीको विस्तार र व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्न आवश्यक छ ।
पहिलो चरणमा उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि अनिवार्य छ । परम्परागत खेती पद्धतिमा निर्भर रहँदा उत्पादन कम हुन्छ, श्रम बढी लाग्छ र लागत बढ्छ । त्यसैले आधुनिक यन्त्रहरू जस्तै ट्र्याक्टर, थ्रेसर, ड्रिप इरिगेसन, ग्रीन हाउस प्रविधि, मल्टी–क्रपिङ प्रणाली, बायोटेक्नोलोजी र अर्गानिक मलको प्रयोग गर्नुपर्छ ।
माटोको गुणस्तर सुधार कृषि आत्मनिर्भरतातर्फको अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालका धेरै खेतीयोग्य जमिनले उर्वराशक्ति गुमाउँदै गएको छ । अत्यधिक रासायनिक मल प्रयोगले माटो बिग्रिएको छ । त्यसैले माटो परीक्षण गरेर उपयुक्त मलको प्रयोग गर्नु, कम्पोस्ट मलको प्रवर्द्धन गर्नु र फसल चक्र परिवर्तन गर्दै भूमिको उर्वराशक्ति जोगाउनु आवश्यक छ ।
सिंचाइ पनि उत्पादन वृद्धिको मुख्य कारक हो । नेपालमा जलस्रोत प्रशस्त भए पनि यसको उचित व्यवस्थापन नहुँदा किसानहरूले बर्खाको पानीमै भर पर्नुपर्छ । सिँचाइको उचित व्यवस्थापन गर्न साना र ठूला सिँचाइ योजनाहरू विकास गर्नु, प्रविधि प्रयोग गरेर पानी संरक्षण गर्नु र अकासे पानी संकलन प्रविधि प्रयोग गर्न सकिन्छ ।
बजार व्यवस्थापन र कृषि उत्पादनको मूल्य निर्धारण पनि महत्त्वपूर्ण पक्ष हो । नेपालमा उत्पादन भएको कृषि सामग्रीले उचित बजार नपाउँदा किसानहरू मारमा पर्छन् । उत्पादक र उपभोक्ताबीच बिचौलिया हावी हुँदा किसानले उचित मूल्य पाउँदैनन् । त्यसैले कृषि उपजलाई भण्डारण गर्ने कोल्ड स्टोरेज प्रणालीको विकास, सहकारीहरूको संजाल, अनलाइन बजार र राज्यस्तरबाट मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्छ ।
सरकारी नीति सुधार नगरेसम्म कृषिमा आत्मनिर्भरता हासिल गर्न गाह्रो छ । सरकारले किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु, अनुदान प्रणाली प्रभावकारी बनाउनुपर्छ । नीति निर्माणमा किसानको प्रत्यक्ष सहभागिता आवश्यक छ । यस्तै, कृषिजन्य सामग्रीको निर्यात बढाउने नीति अवलम्बन गर्दा कृषिमा आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ ।
युवालाई कृषिमा आकर्षित गर्नु अर्को चुनौतीपूर्ण काम हो । हालका युवाहरू कृषिप्रति उत्साहित छैनन् किनकि यो परिश्रमसाध्य देखिन्छ । तर, आधुनिक प्रविधिको प्रयोग गरेर कृषिलाई आकर्षक बनाउन सकिन्छ । व्यावसायिक कृषि, कृषि स्टार्टअपहरू र कृषि पर्यटनको अवधारणा ल्याएर युवाहरूलाई कृषितर्फ मोड्न सकिन्छ ।
सहकारी प्रणालीलाई सशक्त बनाउनु पनि महत्त्वपूर्ण छ । कृषिमा संलग्न किसानहरू सानातिना भू–भागमा व्यक्तिगत रूपमा खेती गर्दा उत्पादन लागत बढी र आम्दानी कम हुन्छ । सहकारी प्रणालीबाट सामूहिक खेती गर्दा लागत कम, उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहजता हुन्छ ।
बिजुली आपूर्ति र ऊर्जा प्रविधि सुधार पनि कृषि आत्मनिर्भरता प्राप्त गर्न अनिवार्य छ । नेपालमा जलविद्युत् उत्पादनको अपार सम्भावना छ तर कृषि क्षेत्रमा ऊर्जाको प्रयोजन न्यून छ । विद्युतीय प्रविधि प्रयोग गरेर कृषि यान्त्रीकरण गर्न सके उत्पादन लागत घट्छ र उत्पादकत्व बढ्छ ।
नेपालले कृषिमा आत्मनिर्भरता हासिल गर्न जैविक कृषि प्रणालीलाई पनि अपनाउनु जरुरी छ । अत्यधिक रासायनिक प्रयोगले माटोको उर्वराशक्ति नष्ट गर्नुका साथै स्वास्थ्यमा पनि असर पार्छ । नेपालमा जैविक खेतीको ठूलो सम्भावना छ, जसलाई प्रवद्र्धन गरे कृषि उत्पादन गुणस्तरीय बनाउन सकिन्छ ।
कृषि अनुसन्धान र प्रविधिको विकास पनि आत्मनिर्भरतातर्फको बलियो आधार हो । नेपालमा जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढ्दो छ । नयाँ प्रजातिका बिउ, मौसमअनुकूल खेती प्रविधि, रोग नियन्त्रण प्रणाली जस्ता विषयमा अनुसन्धान आवश्यक छ । सरकारले अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ ।
ग्रामीण पूर्वाधार सुधार पनि कृषि आत्मनिर्भरताको अर्को मुख्य आधार हो । धेरै किसानहरूले सडक संजालको अभावमा उत्पादन भएको सामग्री समयमा बजार पु¥याउन सक्दैनन् । यातायात, संचार, सिँचाइ र ऊर्जा पूर्वाधारको विकासले कृषिमा आत्मनिर्भरता सम्भव बनाउँछ ।
सरकारले खाद्य सुरक्षा नीति प्रभावकारी बनाउनुपर्छ । नेपाल कृषिमा आत्मनिर्भर नभएसम्म खाद्य सुरक्षामा निर्भर हुनुपर्ने हुन्छ । उत्पादन बढाउने मात्र होइन, खाद्य भण्डारण क्षमता सुधार, पोषणयुक्त उत्पादन प्रवद्र्धन र ग्रामीण भेगका किसानलाई विशेष सहायता प्रदान गर्नुपर्छ ।
समग्रमा, नेपाल कृषिमा आत्मनिर्भर हुनका लागि नीति, प्रविधि, बजार, युवा सहभागिता, सहकारी प्रणाली, पूर्वाधार विकास, ऊर्जा प्रविधि, अनुसन्धान, जैविक कृषि र खाद्य सुरक्षामा ध्यान दिनुपर्छ । सही रणनीति अपनाउन सके नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनु सम्भव छ, जसले दीर्घकालीन रूपमा देशको समग्र विकासमा योगदान दिने छ ।