काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो हकको उपयोग गर्दा अरुको अधिकार हनन् भए/नभएकोतर्फ गम्भीर हुन सबैलाई सुझाव दिएका छन् ।
आइतबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाट नागरिकका संविधानले सुनिश्चित गरेका हक, अधिकार हनन् हुने गरी प्रहार गर्ने काम भएकोमा आपत्ति जनाए ।
‘सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्छ । आफ्नो हक प्रयोगले अरु मानिसको अधिकारलाई हनन् गर्नु हुँदैन । तर, पछिल्ला दिनहरुमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुल्चिने गरी अफवाह फैलाउने काम भएका छन् । सञ्चारमाध्यमहरुले यसतर्फ चनाखो हुनुपर्छ,’ उनले भने ।
नयाँ खुलेका अनलाइन र युट्युव च्यानलहरुलाई अभिमुखीकरण दिने क्रममा उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भिन्नता छुट्याएर सञ्चारकर्मीले काम गर्नुपर्ने बताए । सामाजिक सञ्जाल मात्र चलाउने डिजिटल प्लेटफर्म र सञ्चारमाध्यममा प्रष्ट फरक गराउन सके यसको नियमनमा समेत सहज हुने उनको सुझाव थियो ।
विषयविज्ञका रुपमा सहभागी अन्नपूर्ण पोष्ट दैनिकका समाचार सम्पादक नरेन्द्र साउद र नेपाल टेलिभिजनका वरिष्ठ सम्पादक शालिक सुवेदीले सामाजिक सञ्जाल प्रयोग गर्ने सञ्चारमाध्यमले आचारसंहिताको पालना गर्नु जरुरी भएको बताए ।
साउदले प्रेस काउन्सिलबाट हुने यस्ता अभिमुखीकरण कार्यक्रमलाई जिल्लाब्यापी बनाउन सुझाव दिए । उनले पत्रकारले के गर्न हुने, के नहुनेबारे सहजीकरण गरेका थिए भने पत्रकार सुवेदीले विभिन्न सञ्चार निर्देशिकाबारे प्रष्ट पारेका थिए ।