२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

मध्यान्ह दैनिकले मनायो स्थापना दिवस

shivam cement
मध्यान्ह
२०८१ फागुन ११ गते २२:४८
मध्यान्ह दैनिकले मनायो स्थापना दिवस

काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकले स्थापनाको २३औं वर्ष प्रवेशको उपलक्ष्यमा आइतबार काठमाडौंमा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य र संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको विशिष्ठ आतिथ्यमा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको विशेष आतिथ्यता, मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालकी उपाध्यक्ष देवी सापकेटा, समाजवादी प्रेस संगठनका महासचिव रोहित दाहाल, नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सुदीप थापा, राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)का अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठलगायतको आकिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। 

मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत, विज्ञापन बोर्ड नेपालका अध्यक्ष हुमागाईं र नेपाल पत्रकार महासंघका महासचिव दाहालले मध्यान्ह दैनिकको २३ वर्षमा प्रवेशका उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

सोही अवसरमा मध्यान्ह दैनिकले उत्कृष्ट १० विज्ञापन एजेन्सीहरूलाई पनि सम्मान गरेको छ । १० उत्कृष्ट विज्ञापनदाता एजेन्सीहरूमध्ये आर. आर. एड मिडिया काठमाडौं सर्वोत्कृष्ट घोषित भयो । 

यस्तै, त्रिलक्ष्मी एड्भरटाइजिङ सर्भिसेस प्रा. लि. काठमाडौं, भि–चित्र प्रा.लि. ललितपुर, त्रिकोण एड्भरटाइजिङ सर्भिस काठमाडौं, सनमुन मिडिया प्रा. लि. काठमाडौं, स्मार्ट क्रियटिभ मिडिया प्रा. लि. भक्तपुर, नमस्ते क्रियसन एन्ड एड्भरटाइजिङ प्रा. लि. काठमाडौं, फास्टेक मिडिया एजेन्सी, मोरङ, अपि विज्ञापन एजेन्सी कंचनपुर र युग पब्लिकेशन प्रा. लि. विराटनगर उत्कृष्ट विज्ञापन एजेन्सीका रूपमा सम्मानित भए । 

यसैगरी मध्यान्ह दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारी गरी ७ जनालाई कार्यसम्पादन मूल्यांकनका आधारमा नगदसहित सम्मानित गरियो । सम्मानित हुनेहरूमा उपसम्पादक मुकुन्द लामिछाने, बजार व्यवस्थापक तुलबहादुर मगर, डेस्क सम्पादक दिवाकर अधिकारी, प्रमुख ग्राफिक्स डिजाइनर उत्तम कार्की, लेखा प्रमुख सागर तिमल्सिना, बजार प्रबन्धक विष्णुलक्ष्मी खरेल र वितरक कृष्णगोपाल तुलाधर थिए ।

सम्मानित विज्ञापन एजेन्सी तथा कर्मचारीहरूलाई प्रमुख अतिथि सभामुख घिमिरेले सम्मानपत्र तथा कदरपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मध्यान्ह दैनिक २३औं वर्षमा प्रवेश गरेकामा बधाई तथा शुभकामना व्यक्त गरे । 

सभामुख घिमिरेले छापा माध्यमलाई पाठक केन्द्रित बनाउन आग्रह गरे । ‘पत्रिकाले पाठकहरूको रुचि, प्राथमिकता र समस्याहरूलाई राम्रोसँग बुझेर सामग्री तयार गर्न सके पत्रिकाको भविष्य सुरक्षित गर्न सकिन्छ’, उनले भने ।

संसद्मा विचाराधीन प्रेससँग सम्बन्धित विधेयकहरूका विषयमा आफू जानकार रहेको भन्दै उनले संविधान तथा कानुनले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुनेगरी संसद्ले कुनै पनि कानुन निर्माण नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी विशिष्ट अतिथिको आशनबाट बोल्दै संचारमन्त्री गुरुङले विज्ञापन वितरण प्रणालीलाई वैज्ञानिक, चुस्त र दुरुस्त बनाउन मन्त्रालयले काम गरिरहेको जनाउँदै सरकारले छुट्टै विज्ञापन नीति बनाउन लागेको बताए । मन्त्री गुरुङले डिजिटल पत्रकारितालाई नियमन गर्न सरकारले सामाजिक संजाल विधेयक ल्याउन लागेको सुनाए । 

उनले सामाजिक संजाल विधेयक स्वतन्त्र पत्रकारिताको मुख थुन्न ल्याउन नलागिएको जनाउँदै सामाजिक संजालका माध्यमबाट सामाजिक सद्भाव खल्बल्याउने कार्यलाई नियन्त्रण गर्न ल्याउन लागिएको बताए ।

उनले सामाजिक संजालको माध्यमबाट सामाजिक सद्भाव बिग्रँदै गएको र त्यसलाई नियमन गरिन लागिएकामा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले सरकारले ल्याएको सामाजिक संजाल विधेयकको विरोध गर्नुपर्ने कुनै कारण नरेहेको बताउँदै यसमा थप बहस गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘काउन्सिलले कार्य विधि बनाएर सामाजिक संजाल प्रयोगको नियमन गरिरहेको छ । सकारात्मक सोचले सामाजिक संजाललाई समाज र राष्ट्रमा सही सन्देश दिनेगरी प्रयोग गर्नुपर्छ’, उनले भने ।

पत्रकार महासंघका महासचिव दाहालले सरकारले ल्याएको सामाजिक संजाल विधेयकले लोकतन्त्रको हुर्मत लिएको टिप्पणी गरे ।

मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठले पत्रिका प्रकाशनको मुख्य आय विज्ञापन प्रकाशनको सुनिश्चितता गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

त्यस अवसरमा मध्यान्ह दैनिकका कार्यकारी सम्पादक घनेन्द्र ओझाले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण विज्ञापनदाता, लेखक, पत्रकार, कर्मचारीको अथक मिहिनेत र जिम्मेवारीपूर्ण कार्यसम्पादनका कारण आज मध्यान्ह यहाँसम्म आइपुगेको बताए ।

कार्यक्रममा विज्ञापन एजेन्सी, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विमल थापाले गरेका थिए । औपचारिक कार्यक्रमको समापनपछि मध्यान्ह दैनिकले रात्रि भोजको पनि आयोजना गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise