२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

ओली–मोदी भेट अप्रिलमा

shivam cement
२०८१ फागुन १२ गते ०६:३०
ओली–मोदी भेट अप्रिलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तोको पर्खाइमा रहेका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन् । 

भारतीय पत्रिका द हिन्दुका लागि पत्रकार सुहासिनी हैदरसँग भएको कुराकानीमा मन्त्री राणाले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी अप्रिलमा हुने बिमस्टेक सम्मेलनका क्रममा ‘साइडलाइन’ भेटवार्ता हुने आशा व्यक्त गरेकी छन् । उनले यस वर्षको मध्यमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउन सक्ने सम्भावना पनि व्यक्त गरेकी छन् ।

‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट हुने र सन् २०२५ को पहिलो भागमा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आउने आशा छ’, मन्त्री राणाले भनेकी छन् ।

ओली सरकार गठन भएपछि २ पटक भारत पुगेकी राणाको भनाइले २ देशबीचको सम्बन्धमा असहजता कायम नै रहेको संकेत द हिन्दुले गरेको छ । 

भारतबाट भ्रमणको निम्तोमा ढिलाइ हुने संकेत पाएपछि नै प्रधानमन्त्री ओलीले सन् २०२४ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । 

यद्यपि, गत हप्ता मस्कटमा इन्डियन ओसन कन्फरेन्सका दौरान भारतीय विदेशमन्त्री एस. जयशंकरसँग सौहार्दपूर्ण कुराकानी भएको राणाले बताएकी छन् । उनका अनुसार जयशंकरसँग नेपाली सामग्रीको गुणस्तर क्लियरेन्स, जलविद्युत् आयोजनाको प्रगति, पोखरा र भैरहवा विमानस्थलका लागि हवाई रुटलगायत विषयमा छलफल भएको थियो ।

‘२ विदेशमन्त्रीबीच प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय भएको हो ?’ भन्ने प्रश्नमा राणाले ‘निमन्त्रणा आउनेबित्तिकै’ भारत भ्रमण गर्ने खुलाइन् । यसको अर्थ हालसम्म भारतबाट कुनै पनि औपचारिक निमन्त्रणा आएकै छैन । 

सन् २०२४ को सेप्टेम्बरमा नै प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेट भएपछि पनि परम्परागत रूपमा नै दिइँदै आएको निमन्त्रणाका लागि किन यति धेरै समय लगाइयो ? भन्ने प्रश्नमा मन्त्री राणाले भारतमा जारी रहेको विधानसभा निर्वाचनको कारण देखाइन् ।

उनले भनिन्, ‘सुरुमा मैले प्रधानमन्त्री मोदी निर्वाचनका लागि व्यस्त हुनुहुन्छ भन्ने सूचना पाएकी थिएँ । मलाई आशा छ, सन् २०२५ को पहिलो भागमा नै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुन्छ ।’

२ देखि ४ अप्रिलसम्म थाइल्यान्डमा हुने बिमस्टेक सम्मेलनमा ओली र मोदी भाग लिँदै छन् । त्यहाँ पनि उनीहरूबीच भेटघाट हुने अपेक्षा गरिएको छ ।

मन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमण र बीआरआईको फ्रेमवर्कमा हस्ताक्षरपछि भारतले निमन्त्रणा पठाउन ढिलाइ गरेको कुरालाई अस्वीकार गरिन् । उनले भारतले अहिलेसम्म चीनको कुनै पनि बीआरआई परियोजनाबारे औपचारिक रूपमा आपत्ति नजनाएको बताइन् । उनले बीआरआईमा हस्ताक्षर गरे पनि नेपाल असंलग्न राष्ट्र नै रहेको स्पष्ट पारिन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise