काठमाडौं : सामाजिक संजाल मानवहरूबीच अन्तरक्रियात्मक संवाद गर्ने थलो हो । सामाजिक संजालहरूले सूचना र अभिव्यक्तिहरू आदानप्रदान गर्ने सुविधा मात्र दिएको छैन, यसैलाई व्यापार प्रवद्र्धनको माध्यम बनाउनेहरू पनि प्रशस्तै छन् ।
जसरी सामाजिक संजालको प्रयोग बढ्दो छ, उस्तै गतिमा सामाजिक संजाललाई अपराधको माध्यम बनाउनेहरू पनि बढेका छन् ।
गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै मेसेन्जरमार्फत अपराध कर्म गर्नेहरू छन् । इन्स्टाग्राम, ह्वाट्सएप, टिकटकबाट अपराध गर्नेहरू पनि उल्लेख्य छन् ।
नेपाल प्रहरीको पछिल्लो ३ महिनामा सामाजिक संजालमार्फत ४ हजार ४८ वटा अपराधका कार्य भएका छन्, जसमा सबैभन्दा बढी मेसेन्जरबाट २ हजार २०७ वटा अपराध भएका गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार यो तथ्यांक साइबर ब्युरो, हेलो सरकार र सातै प्रदेशका प्रहरी कार्यालयहरूको एकीकृत विवरण हो । एकीकृत विवरणअनुसार सबैभन्दा धेरै फेसबुक मेसेन्जरबाट अपराध भएको छ । यो कारबाही भएकाहरूको विवरण हो ।
साइबर ब्युरो, हेलो सरकार र सातै प्रदेशका प्रहरी कार्यालयहरूले गरेको कारबाहीको विवरणअनुसार इन्स्टाग्राममार्फत अपराध गर्नेहरूको संख्या दोस्रो नम्बरमा छ । इन्स्टाग्राममार्फत ६४७ जनाले अपराध गर्दा तेस्रो नम्बरमा ह्वाट्सएप छ । ह्वाट्सएपमार्फत अपराध गरेको कसुरमा ५१८ जना, टिकटकमार्फत अपराध गरेको कसुरमा ४६७ जना कारबाहीमा परेका छन् ।
अन्य सामाजिक संजालबाट अपराध गरेको कसुरमा पनि कारबाही भएको छ । इ–सेवाबाट अपराध गरेको कसुरमा ८९ जना, इमेलबाट गरेको कसुरमा २७ जना र युट्युबबाट कसुर गरेकामा २२ जना कारबाहीमा परेका छन् ।
इमोबाट कसुर गरेका ७ जना, वेबसाइट ह्याक गरेको र ट्वीटरको माध्यमबाट अपराध गरेको कसुरमा ६/६ जना कारबाहीमा परेका छन् । भाइबरबाट अपराध गर्ने ४ जना कारबाहीमा परेका छन् ।
यस्तो अपराधको सिकारमा महिला धेरै परेका छन् । साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सामाजिक संजालबाट ८ हजार ७४५ जना महिला अपराधजन्य कार्यबाट प्रभावित भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ६३५ जना बालबालिका सामाजिक संजालबाट हुने अपराधजन्य कार्यबाट प्रभावित भएका थिए ।
भ्वाइस अफ चिल्ड्रेनले सन् २०२३ मा कोशी र बाग्मती प्रदेशमा बालबालिका र सम्बन्धित परिवारसँग गरेको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा महिला तथा बालबालिका परिरहेका निष्कर्ष निकालेको थियो ।
सर्वेक्षणअनुसार सामाजिक संजालबाट यौनजन्य सन्देश पठाउने, अश्लील फोटो र अन्य दुव्र्यवहारजन्य भिडियो पठाउनेहरू बढी छन् भने सामाजिक संजालमा विभिन्न प्रलोभन देखाएर ठगी गर्नेहरू पनि छन् ।