काठमाडौंः शिवरात्रीका दिन पशुपतिमा ४ हजार जना स्वयंसेवक खटाइने भएको छ । यस वर्ष फागुन १४ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ४१ स्वयमसेवी संस्थाहरूका ४ हजार स्वयंसेवक खटाइने पशुपति क्षेत्रविकास कोषले सोमबार पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो ।
‘दर्शन, लाइन सहजीकरणका लागि नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दु युवा परिषद लगायतका ४१ स्वयमसेवी संस्थाहरूका स्वयमसेवीहरू परिचालन हुनेछन्’, महाशिवरात्रि प्रचारप्रसार तथा साजसज्जावट व्यवस्था उपसमितिका संयोजक राजु खत्रीले सम्मेलनमा बोल्दै भने । उनले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको पनि जानकारी दिए ।
यस्तै, सो समयमा पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत-जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ८९० जना ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्डमा ८९० जना ट्राफिक प्रहरी खटाएको हो ।
यसका साथै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरूको पार्किङका लागि तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा, बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करका लागि र कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।