काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरू उत्पादन गर्नसके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्–सिटिइभिटीको ३७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सीपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरणमार्फत दक्ष प्राविधिक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
उच्च शिक्षा हासिल गरेका युवा समेत रोजगारीका लागि विदेश गई रहेको उल्लेख गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यावसायिक र प्राविधिक शिक्षा प्रदान गर्नसके यो क्रममा न्यूनीकरण आउने समेत उल्लेख गरे ।
सिटिइभिटीले देशका विभिन्न ग्रामीण क्षेत्रसम्म पुगेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्नु सराहनीय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमा नै आत्मनिर्भर र व्यावसायिक बनाउनतर्फ पनि ध्यान दिनुपर्ने बताए ।