२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

महिलालाई पनि पुरुषलाई जत्तिकै अवसर दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

draupadi film
मध्यान्ह
२०८१ फागुन १२ गते २१:०२
महिलालाई पनि पुरुषलाई जत्तिकै अवसर दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

सर्लाही : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाज विकासका लागि पुरुष मात्र अघि बढेर नहुने भन्दै महिलालाई पनि पुरुष समान अधिकार र अवसर दिनुपर्ने बताएका छन् । 

नेपाल मुस्लिम संघ मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महिला अधिकारलाई सबै क्षेत्रमा सुरक्षित गर्नुपर्नेमा जोड दिए । 

उनले मुस्लिम समुदायका महिलाहरुले चाहेको शिक्षा लिने अवस्था बनाउनुपर्नेमा जोड दिए । समाजमा भएका विकृति हटाउन र  जनताको मन जित्दै पार्टीलाई बनाउन मुस्लिम संघको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सिंहले भने, ‘मुस्लिम समुदायमा अहिले पुरुषहरुले शिक्षामा राम्रो गर्नुभएको छ । महिलाहरुले पनि चाहेअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाउनका लागि मुस्लिम संघले काम गर्दा राम्रो गर्छ भन्ने मलाई लागेको छ । पुरुषहरु मात्र अघि बढेर हुँदैन । समाजको विकासका लागि महिला पुरुष सँगसँगै अघि बढ्नुपर्छ ।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले मुस्लिम संघ स्थापना गर्दा तत्कालिन पार्टी सभापति सुशील कोइरालाको आग्रहपछि आफैले अग्रसरता लिएको पनि स्मरण गरे । उनले मुस्लिम संघका सबै समितिहरुमा महिला सहभागिता सुनिश्चित गर्न पनि सुझाव दिए । 

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जीवन र जिविकोपार्जन सहज होस् भन्ने जनचाहना नेपाली कांग्रेसले पूरा गर्ने बताए । उपप्रधानमन्त्री सिंहले अधिकार प्राप्तिको आन्दोलनजस्तै नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउने काम पनि कांग्रेस नेतृत्वमै हुने बताए । ‘जसरी अधिकारी प्राप्तिको आन्दोलनमा कांग्रेसले नेतृत्व गर्‍यो । अब आम नेपाली जनताले चाहेको ०७२ को संविधानले दिएको अधिकार सबैलाई बराबरी उपभोग गर्न पाउने बनाउन आवश्यक कानून चाँडै बनाएर तीनै तहको सरकारलाई सूचारु गर्न दिएर हरेक नेपालीको जीवन र जिविकोपार्जन सहज बनाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘राजनीतिक स्थायीत्व बिना राजनीतिक,आर्थिक र सामाजिक मुद्दाहरु सम्बोधन हुन सक्दैनन् । विगतमा हरेक राष्ट्रिय संकट कांग्रेसले पार लगाएको छ । अब पनि जनताको चाहना कांग्रेसले नै पूरा गर्छ ।’ उनले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको भन्दै आवश्यक संघीय कानून बनाएर प्रदेश र स्थानीय सरकारलाई पूर्णरुपमा काम गर्नसक्ने वातावरण बनाउने पनि बताए । 

अहिले प्राप्त अधिकार त्यसै प्राप्त भएको नभएको भन्दै हजारौं नेपालीको त्यागबाट प्राप्त भएको विषय भूल्न नहुने सिंहको भनाइ छ । लहलहैमा लाग्यौं भने प्राप्त अधिकार गुम्न सक्नेतर्फ सचेत गराउँदै उनले अधिकारको कुरा गर्दा पूरा गर्नुपर्ने जिम्मेवारी पनि ख्याल गर्नुपर्नेमा जोड दिए । 

प्राप्त उपलब्धी संस्थागत गरेर आर्थीक समृद्धि र विकासको काम सरकारको प्राथमिकतामा रहेको सिंहले बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, नेपाल मुस्लिम संघका पूर्वअध्यक्ष अब्दूल सतार, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र सिंहलगायतको सहभागिता थियो ।

ADV

सम्बन्धित खबर

Advertise