२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

‘काठमाडौं उत्सव’को पहिलो संस्करण १६–१७ फागुनमा

draupadi film
मध्यान्ह
२०८१ फागुन १३ गते १४:०७
‘काठमाडौं उत्सव’को पहिलो संस्करण १६–१७ फागुनमा

काठमाडौं : आगामी १६–१७ फागुनमा काठमाडौंमा कला, साहित्य उत्सव ‘काठमाडौं उत्सव’को पहिलो संस्करण आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने उत्सवमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले जानकारी दिए ।

उत्सवमा जम्मा १५ वटा सत्रहरू रहने उत्सवका संयोजक बाबु त्रिपाठीले बताए । उनका अनुसार महोत्सव ८ जना स्थापित कविहरूका कवितावाचनबाट उद्घाटन हुने छ । 

अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको दुर्लभ संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र महोत्सवको प्रमुख आकर्षण हुने बताइएको छ । शान्तिश्रीले कवि दीप दर्पणसँग ‘साधना र सफलता’ शीर्षकमा अन्तर्संवाद गर्ने छन् ।

उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र बसन्त चौधरीबीच ‘अक्षरका आयामहरू’ शीर्षकमा विशेष कुराकानी हुने कार्यक्रम तालिकामा उल्लेख छ ।

पत्रकार राजेन्द्र बानियाँको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा काठमाडौंको संस्कृतिका ऐतिहासिक तथा मौलिक पक्षहरूबारे छलफल गर्ने छन् ।

कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यामिकता जस्ता विषय समेटिएको काठमाडौं उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको जनाइएको छ ।

काठमाडौं उत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष होमनाथ सुवेदीले ‘नेपाली साहित्यमा डायस्पोराको अवस्था’ विषयमा विद्वत् प्रवचन दिने छन् । साहित्य, कला र संगीतका तीनवटै राष्ट्रिय प्रतिष्ठानहरू सहयोगी संस्थाका रूपमा रहेको काठमाडौं उत्सवमा कला र चलचित्रका विषयमा पनि संवाद हुने छ ।

ओम रिजाल, अमला अधिकारी, शैलेन्द्र अधिकारीबीच ‘आख्यानमा द्वन्द्व र दर्शन’ शीर्षकमा छलफल हुने छ । यस सत्रलाई आख्यानकार उमा सुवेदीले सहजीकरण गर्ने छन् ।

कला, साहित्य, संस्कृति, सम्पदा, पर्यटनसँगै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई पनि केन्द्रमा राखेर छलफलहरू राखिएको काठमाडौं उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीले जानकारी दिए ।

संवाद, कविता, गजल प्रस्तुतिसँगै महोत्सवमा काठमाडौंको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise