काठमाडौं : नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
मन्त्री पाण्डेले प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्दै भने, ‘नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सेवालाई भरपर्दो बनाउनका लागि बाञ्छनीय भएकाले आधुनिक सुविधायुक्त विमानस्थल बनाउन र हवाई सेवालाई मर्यादित बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ प्रस्तुत गर्दछु ।’
यसअघि ५ पुस २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले दुबै विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको थियो । नेपालमा पछिल्लो डेढ दशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने बहस सुरू भएपनि उक्त काम सम्पन्न हुन सकेको थिएन । यसअघि ११ फागुन २०७६ मा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राएर सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभाले उक्त विधेयक १८ साउन २०७८ मा पारित समेत गरेको थियो । तर, प्रतिनिधि सभाबाट भने विधेयक पारित हुन सकेन । जसले गर्दा प्रधिकरणलाई छुट्याएर नेपाल हवाई सेवा प्राधिकरण स्थापना गर्ने विधेयक निष्क्रिय भएको थियो ।
अहिले फेरि नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकाय छुट्याएर आधुनिक सुविधायुक्त विमानस्थल बनाउन र हवाइ सेवालाई मर्यादित बनाउन दुईवटा विधेयक संसद्मा प्रस्तुत गरिएको मन्त्री पाण्डेले जानकारी गराए ।