२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

कतारमा अस्ताएका गुल्मीका झविन्द्रको आफ्नै घाटमा दाह संस्कार

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन १३ गते २१:०२
कतारमा अस्ताएका गुल्मीका झविन्द्रको आफ्नै घाटमा दाह संस्कार

दोहा : करिब डेढ दशकदेखि कतारलाई कर्मथलो बनाएका गुल्मी मालिका गाउँपालिका ५ छाप निवासी झविन्द्र आचार्यको शवलाई नेपाल ल्याएर आफ्नै घाटमा ल्याएर दाह संस्कार गरिएको छ ।

आचार्यको सडक दुर्घटनामा गत बुधबार साँझ ८ बजे मृत्यु भएको थियो । कतारको आबुहामुर सडक किनार उभिएका आचार्यलाई तीव्र गतिमा अनियन्त्रित भइ आएको लिमोजिन ट्याक्सीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।   

आचार्यले चलाएको माइक्रोमा समस्या आएपछि रोड साइडको पार्किङमा बिग्रेको गाडी बोक्ने गाडी (ब्रेक डाउन)लाई पर्खिएर बसिरहेका बेला उनी दुर्घटनामा परेको आचार्य सँगसँगै माइक्रोमा सवार प्रत्यक्षदर्शी राजेन्द्र काफ्लेले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए । काफ्लेका अनुसार बंगलादेशी नागरिकले चलाएको ट्याक्सीले उनलाई ठक्कर दिएको थियो । 

दुर्घटना स्थलको अर्को रोड साइडमा सवार सुशील गौतम र सुलभ चन्दले स्थानीय प्रशासनलाई घटनाको जानकारी गराएका थिए भने स्थानीय प्रहरीले ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको थियो । घटना घटेको केही समयमा उनीहरूले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टलाई जानकारी दिएका थिए ।

श्रमिकका रूपमा कतारमा प्रवेश गरेका आचार्य पछिल्लो समय सफल व्यवसायीका रूपमा स्थापित थिए । कतारदेखि गृह जिल्लाका दुखी पीडितका लागि भरोसाका केन्द्रबिन्दु बनेका उनी एनसीसी कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष, गुल्मी सेवा समाज कतारका भूतपूर्व अध्यक्ष हुन् । आचार्य कतारमा स्थापित करिब दर्जन संघ संस्थाका आजीवन सदस्य तथा मानार्थ सदस्य समेत रहेका थिए । 

आचार्यको मृत्युले कतारको नेपाली समाज शोकमा डुबेको छ । ३ छोरा, श्रीमती, बाबा आमासहितको ठूलो परिवारको जिम्मेवारी आचार्यको काँधमा थियो ।  

मृतक आचार्यलाई सोमबार साँझ कतारको औद्योगिक क्षेत्रमा रहेको सब गृहमा जम्मा भएका उनका आफन्त, शुभचिन्तक तथा कतारमा स्थापित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूले १ मिनेट मौन धारण गर्दै कतारबाट सदाका लागि बिदाइ गरी कतार एयरवेजमार्फत काठमाडौं पठाइएको थियो ।

काठमाडौंबाट मंगलबार हेलिकप्टरमार्फत परम्परागत शाहघाट फूलबारी लगेर अन्त्येष्टि गरिएको छ । शव कतारबाट नेपाल लैजान एनसीसी कतारका अध्यक्ष भट्टसहित सामाजिक व्यक्तित्व चानक पोखरेल लगायत आचार्यका नजिकका सहकर्मी तथा विभिन्न व्यक्तित्वहरूले विशेष पहल गरेका थिए ।

साहघाटमा नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्णराज विष्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरबहादुर कार्की, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश मन्त्री दिनेश पन्थी, अर्का केन्द्रीय सदस्य जंग नेपाली, जिल्ला पार्टी अध्यक्ष बाङसिंह काउसासहित विभिन्न पार्टीका नेता तथा विभिन्न तहका जनप्रतिनिधिहरूसहित सयौँ मानिसको उपस्थिति रहेको थियो ।

कतारबाट एनसीसी कतारका कोषाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका संरक्षक बुद्ध पाण्डे र एनसीसी कतारका कार्यसमिति सदस्य समेत रहेका काफ्ले शवका साथ साहघाट पुगेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise