बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाका ४ वटा विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता संरचना हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको एकप्रिय राठौर माध्यमिक विद्यालय पाताभार, जनता माध्यमिक विद्यालय गोला, पशुपति माध्यमिक विद्यालय पशुपतिनगर र सरस्वती आधारभूत विद्यालय विन्द्रामा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छता सुविधायुक्त संरचना निर्माणपछि हस्तान्तरण गरिएको हो ।
यूके एड र वाटर एडको आर्थिक सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा व्याक्यार्ड सोसाइटी एजुकेशन वेसद्वारा सञ्चालित वास गेन्स परियोजनाले ४ वटा विद्यालयमा १ करोड २६ लाख २१ हजार ४ सय ३० रुपैया खर्चेर विद्यालयमा पहुँचयुक्त शौंचालय, सेफ्टी ट्यांकी/सोकपिट, फोहोर व्यवस्थापन पिट, प्लाटफर्म, प्याड व्यवस्थापन पिट, हात धुने स्थान र धारा लगायतका संरचनाहरु निर्माण गरी हस्तान्तरण गरेको हो ।
१ अप्रील २०२३ देखि सुरु भएको परियोजनामार्फत गत वर्ष जानकी माध्यमिक विद्यालय जनक नगर र जनता परीक्षित नरसिंह आधाभूत विद्यालयमा ३२ लाख ४० हजार २ सय १६ रुपैयाँको लागतमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधायुक्त संरचना निर्माण गरी हस्तान्तरण गरिएको थियो । ३१ मार्च २०२६ सम्म सञ्चालन हुने यस परियोजना बर्दिया जिल्लाका ८ वटा स्थानीय तहहरु मध्ये गेरुवा गाउँपालिकाका ६, गुलरिया र वारबर्दिमा नगरपालिका १०÷१०, ठाकुरबाबा नगरपालिकाका ५ र मधुवन नगरपालिकाका २ वटा विद्यालय गरी ३३ विद्यालयमा सञ्चालनमा रहेको छ ।
परियोजनाले विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा उपलब्ध गराइ अपाङ्गता भएका बालबालिकाहरु, किशोर किशोरीहरुको पहुँच वृद्धि गरी सिकाइको वातावरण सिर्जना गर्दै दिगो विकास लक्ष्यको सूचक ४ को उपलब्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।