कपिलवस्तु : नेपाल–भारत सिमामा रहेको कृष्णनगर भन्सार कार्यालयमा अनियमितता बढ्दै गएको स्थानीयहरूले आरोप लगाएका छन् ।
भन्सार कर्मचारीहरूको मिलेमतोमा नियमविपरीत राति १० बजेपछि बस प्रवेश गराएर अवैध रूपमा पैसा असुली भइरहेको आरोप लागेको हो ।
नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्ने स्वय्म्भू मञ्जू श्री यातायात प्रा.लि.का बसहरू भन्सार नियम मिचेर राति १०ः३० देखि १०ः४५ बजे नेपाल प्रवेश गरिरहेको पाइएको छ ।
तर भन्सार कार्यालयका कर्मचारीहरूले कुनै चेकजाँच नगरी सवारी साधनलाई प्रवेश दिइरहेको स्थानीय व्यापारीहरूको आरोप छ ।
सीमानामा दिनहुँ लागुऔषध, भारतीय मुद्रा, मोटर पाट्र्सलगायत अवैध सामान ओसारपसार भइरहेका घटनाहरू सार्वजनिक भइरहेपनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरू मौन बसेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् ।
भन्सार अधिकारीहरूसँग बुझ्दा राति कार्यालय बन्द भएपछि कुनै सवारी साधन आवतजावत गर्न नपाइने दाबी गरिएको छ । तर, स्वय्म्भू मञ्जू श्री यातायातलाई प्रवेश अनुमति दिइएको छ वा छैन भन्ने स्पष्ट नभएको बताइएको छ ।
यदी ठूला व्यापारी वा प्रभावशाली व्यक्तिहरूको मिलेमतोमा रातिमा बस तथा चारपांग्रे सवारी प्रवेश दिइएको हो भने, यसले भन्सार तथा सुरक्षाकर्मीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।
व्यापारीहरूका अनुसार, भन्सार र सुरक्षाकर्मीहरूको सेटिङकै कारण लाखौं रुपैयाँ बराबरको अवैध सामान तथा विदेशी नागरिकहरू रातिको समयमा नेपाल भित्र्याइँदै आइएको छ । सीमामा खटिएका सुरक्षाकर्मीहरू नै लापरवाही हुँदा अवैध कारोबार अझ बढ्ने खतरा देखिएको व्यापारीहरु बताउँछन् ।