हामीकहाँ विविध संस्कृति र समुदाय छन्, जो आपसी सद्भाव र सहिष्णुतामा बाँचेका छन् । हरेक समुदायका आ–आफ्ना रीतिथिति, संस्कार, संस्कृति र चाडपर्व छन् । ती सबैका आफ्नै खालका विशेषता छन् । यिनैमध्ये हिन्दु समुदायले मनाउने एउटा ठूलो पर्व हो– महाशिवरात्रि । फाल्गुण कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि नेपाली हिन्दुहरूको मात्र नभएर विश्वभरका हिन्दु समुदायको पर्व हो । यसमा हिन्दुहरूले मान्ने भगवान् महादेव अर्थात् शिवको पूजा, आराधना गरिन्छ । यस पर्वमा आराध्यदेव मानिने पशुपतिनाथमा ठूलो मेला नै लाग्ने गर्छ, जहाँ विशेषगरी नेपाल र भारतबाट लाखौंको संख्यामा तीर्थालुहरू आउँछन् ।
आज बुधबार शिवरात्रि पर्व परेको छ । पाशुपत क्षेत्र तीर्थालु भक्तजनहरूले भरिएको छ । साधुसन्तदेखि सर्वसाधारणसम्म उपस्थित भई शिवको पूजा आराधनामा मस्त छन् । धर्म, संस्कृतिहरू आपसी सद्भाव र भाइचारा अनि सहिष्णुताका लागि हुन्, अनुशासनका लागि हुन् । विगतमा संसारभर धर्मले शासन गरेको पाइन्छ । त्यसबेलाको धर्मप्रतिको बुझाइ फरक थियो भने आज फरक छ÷हुनुपर्छ । धर्म वा संस्कृतिलाई विशुद्ध अनुशासनका रूपमा, एकता र सद्भावका आधारका रूपमा लिनुपर्छ । कुनै पनि समुदायका धर्म, संस्कार र संस्कृतिका असल पक्षलाई अनुसरण गर्दा हानि नोक्सानी हुँदैन । तर, कति(पय संस्कार र परम्परामा प्रश्न जीवित छन् । ती प्रश्नबाट मुक्त हुन त्यस्ता अस्वाभाविक र त्याज्य संस्कार, परम्पराबारे गम्भीर भएर सोच्न जरुरी छ ।
शिवरात्रिकै सन्दर्भमा पनि ‘शिवजीलाई गाँजा/भाङ मनपथ्र्यो’ भन्ने आधारमा हामीले पनि गाँजा/भाङको सेवन गरी उपद्रो गर्नतिर लाग्यौं भने त्यो सही नहुन सक्छ । सद्भाव र सहिष्णुतामा यस्ता स्नायु प्रणालीमै दख्खल गर्ने नशाका कारण खलबल हुन सक्छ । यस्ता मान्यता र गलत परम्परा हरेक समुदायका चाडपर्वमा हुन सक्छन् । ती कुराहरूलाई त्याज्य मान्यता वा परम्पराका रूपमा लिइनु र परिमार्जन गर्नु बुद्धिमानी ठहर्छ । यससँगै सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई प्रवद्र्धन गर्न हरेक समुदायका संस्कृति, रीतिथिति र परम्परालाई समान सम्मानपूर्वक लिइनुले सामाजिक सद्भाव थप बलियो हुने छ । महाशिवरात्रिको सबैमा हार्दिक शुभकामना !