२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

राष्ट्रसंघमा नेपाल उभियो युक्रेनको पक्षमा, अमेरिकाले बदल्यो कित्ता

hardik ivf
निमिष झा
२०८१ फागुन १४ गते ०६:३०
राष्ट्रसंघमा नेपाल उभियो युक्रेनको पक्षमा, अमेरिकाले बदल्यो कित्ता

काठमाडौं : नेपालले संयुक्त राष्ट्रसंघको महासभामा छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै युक्रेनको पक्षमा मतदान गरेको छ ।

सोमबार ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ प्रस्तावमा नेपालले ३ वर्षदेखि युद्धले आक्रान्त युक्रेनको पक्षमा मतदान गरेको हो ।

प्रस्तावले रुसी आक्रमणको निन्दा गर्दै युक्रेनबाट रुसी सेना फिर्ता गर्नुका साथै शान्तिको आह्वान पनि गरेको छ ।

प्रस्तावमा भनिएको छ, ‘रुसी संघद्वारा युक्रेनमा पूर्ण–स्तरीय आक्रमण ३ वर्षदेखि जारी छ र युक्रेनका लागि मात्र नभई अन्य क्षेत्रहरू र विश्वव्यापी स्थिरताका लागि पनि विनाशकारी र दीर्घकालीन परिणामहरू निम्त्याउँदै आएको छ ।’

संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्ताव बहमुतले अनुमोदन गरेको हो । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो । ६५ देश तटस्थ रहे ।

नेपालले प्रस्तावको समर्थन गर्दै युक्रेनको सार्वभौमिकता र शान्तिको पक्षमा रहेको प्रतिबद्धता देखाएको छ । विगतमा पनि नेपालले युक्रेनसम्बन्धी प्रस्तावहरूमा समर्थन जनाउँदै आएको थियो ।

युक्रेनमा रुसी आक्रमण चलेको ३ वर्षपछि राष्ट्रसंघ महासभाले प्रस्ताव पारित गरेको हो । यसअघि सन् २०२३ मा पनि राष्ट्रसंघमा मतदान हुँदा नेपालले युक्रेनको पक्ष लिएको थियो ।  अहिले त्यसै नीतिलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव डा. कुलचन्द्र गौतमले नेपालले युक्रेनको पक्षमा गरेको मतदानको प्रशंसा गरेका छन् । ‘युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा र रुसी आक्रमणको निन्दा संयुक्त राष्ट्रसंघको साधारणसभामा नेपालले दिएको मतदानमा गर्व गर्नुपर्छ’, गौतमले भने । 

गौतमले नेपालको संविधानमा उल्लेखित पञ्चशील र राष्ट्रसंघीय बडापत्रअनुरूप यो सैद्धान्तिक अडानका लागि नेपाल सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।
संविधानविद् डा. भीमार्जुन आचार्यले भने, ‘हामी युक्रेनको साथमा छौं भन्ने अमेरिकाले हिजो राष्ट्रसंघको विशेष सभामा युक्रेनविरुद्ध मतदान गर्‍यो । आखिर ठूला भनिएका देश कसैको पक्षमा भन्दा पनि आफ्नो पक्षमा मात्र हुन्छन् र रहन्छन् भन्ने यो जबर्जस्त सन्देश हो ।’ 

उनले यो घटनाबाट नेपालले पाठ सिक्नुपर्ने बताए । ‘अमेरिका, भारत, चीन वा अरू कसैको गोटी बन्दा आउने परिणाम यस्तै नै हो । कसैले हामीलाई गर्दैन, गर्ने हामी आफैंले मात्र हो । उनीहरूले सक्दा बिगार्ने हो, जुन भइरहेको छ’, उनले भने ।

अमेरिकाको कित्ता परिवर्तन

यसअघि युक्रेनलाई साथ दिँदै आएको अमेरिकाले भने अडान परिवर्तन गरेको छ । उसले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभर अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा सुरु भएको छ । ट्रम्प प्रशासनको यो कदमले युक्रेनको समर्थनमा रहेको पुरानो नीतिबाट पछि हटेर रुससँग नजिक भएको संकेत गरेको छ ।

अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुसलगायतले पनि विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश युक्रेनको पक्षमा उभिएका छन् ।

यो मतदानले विश्व राजनीतिमा गहिरो विभाजन देखाएको छ, जसले प्रमुख शक्तिहरूको भूमिका र तटस्थ मुलुकहरूको रणनीतिलाई उजागर गरेको छ ।
यसले युरोपेली सहयोगीहरूसँग तनाव बढाएको छ भने विश्व राजनीतिमा अमेरिकाको नेतृत्वमाथि प्रश्न उठाएको छ । सामाजिक संजाल र अन्तर्राष्ट्रिय संचार माध्यममा यो निर्णयलाई लज्जास्पद र विश्व शान्तिको लागि खतरा भनी आलोचना गरिएको छ ।

चीन र भारत तटस्थ

चीन र भारतले मतदानमा भाग लिएनन्, जसले रुससँगको सम्बन्ध र पश्चिमसँग सन्तुलन कायम राख्ने उनीहरूको रणनीति झल्काएको छ । दुवै देशले रुसी आक्रमणको खुल्ला निन्दा गर्न अस्वीकार गरेका छन् ।

प्रस्तावका सन्दर्भमा अमेरिकाको अप्रत्याशित सहभागिता विशेष चासोको विषय बनेको छ । यस प्रस्तावलाई लिएर अफ्रिकासहित धेरै विकासशील देशहरू तटस्थ रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise